चितवनका सोमप्रसादको तीन वर्षदेखि शव साउदीमा अलपत्र

चितवन, १४ चैत । चितवन खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि ड्राइभिङ भिसामा रोजगारीका लागि साउदी अरब गएका थिए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो ।
आजको नयाँ पत्रिकामा खबर छ– एक दिन साँझ सोमप्रसादसँगै चितवनकै टीकाराम सापकोटा र प्युठानका सतिउल्लाहले मियाँ सँगै बसेर मदिरा सेवन गरे । अन्य रिसइबी के थियो खुल्न नसके पनि त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । सो घटनामा चितवनका टीकारामको पनि सहयोग रहेको अनुसन्धानबाट खुलेपछि दुवैजना जेल सजाय कटाइरहेका छन् ।
आगामी असारमा सोमप्रसादको हत्या भएको तीन वर्ष पूरा हुन्छ । हत्या भएको तीन वर्षसम्म पनि सोमप्रसादको शव नेपाल ल्याउन सकिएको छैन । सोमप्रसादका दाजु नवराज सिलवाल भाइको शव नेपाल ल्याउन अहिलेसम्म धेरैपटक पहल गर्दा पनि नसकेको गुनासो गर्छन् । भाइको हत्याबारे दाजु नवराज भन्छन्, ‘घरमा बुढा बाआमा छन् । भाई नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए ।’ तीन दाजुभाइमध्ये कान्छा सोमप्रसादको हत्या भयो भने माइला वैदेशिक रोजगारीकै लागि अहिले दुबई गएका छन् । जेठा नवराज चितवनकै एक विद्यालयको गाडी चलाएर गुजारा चलाउँछन् । नवराज भन्छन्, ‘अहिलेसम्म हिन्दू परम्पराअनुसार कुनै काजकिरिया गर्न सकिएन । तीन वर्षदेखि हामीले कुनै चाडपर्व मनाएका छैनौँ ।’
सोमप्रसादको जलेको शरीरका केही हड्डी मात्रै संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । सोमप्रसाद हत्याको मुद्दा साउदी अदालतमा विचाराधीन छ भने हत्याका मुख्य अभियुक्त प्युठानका सतिउल्लाह र चितवनकै टीकाराम अहिले साउदी जेलमा छन् । साउदी अदालतको फैसलाअनुसार अहिले पीडक र पीडित पक्षले ब्लडमनी ९हत्यापछि पीडित पक्षले पाउने क्षतिपूर्ति रकम० का लागि सहमति जनाएका छन् । पीडित र पीडक पक्ष दुवै नेपाली भएकाले ब्लडमनी लिन र दिन सहमत रहेको पत्र केही दिनअघि मात्रै मृतक सोमप्रसादका दाइ नवराजले कन्सुलर सेवा विभागमार्फत साउदी पठाएका छन् । अदालतले ब्लडमनी रकमबारे केही नबोलेकाले अहिले नै आफूले पाउनुपर्ने रकम दाबी नगरिएको मृतकका दाजु नवराजले बताए ।