भरतपुर सम्भावनाले चाँडै वन्यो महानगर

विमल खतिवडा,
चितवन, १४ चैत । यहाँ सबै समुदायको बसोबास छ । बसाइ सरेर आउने क्रम बर्सेनि बढदो छ । पूर्वपश्चिम पुग्नेहरू यही जिल्ला भएर गन्तव्यमा जान्छन् । कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा यहाँ आउँछन् । मध्यभागमा पर्ने भएकाले सबैको रोजाइ चितवन बनेको हो । त्यसैले यसलाई ७६औं जिल्ला मानिन्छ ।

तीव्र समृद्धितर्फ लम्किएको भरतपुर अहिले महानगरपालिका बनेको छ । यसको सुरु २०३५ मा नगर पञ्चायत घोषणासँगै भएको हो । ०४८ मा नगरपालिका बन्यो । ०७१ मंसिर १६ गते उपमहानगर घोषणा भयो । भरखरै महानगरपालिकामा स्तरोन्नति भयो । तर, पूर्वाधारको तयारी नहुँदै महानगरपालिका घोषणा गरिए पनि यसलाई जिल्लावासी राम्रो कामको सुरुवात भएको ठान्छन् । ‘उपयुक्त समयमा जिल्लालाई महानगरपालिका बनाइएको छ,’ चितवन उपत्यका रणनीतिक गुरुयोजना संयोजक विजय सुवेदीले भने, ‘अब निर्वाचित संरचना हुन्छ, त्यसैले महानगरको गुरुयोजना बनाउँछ, यही आधारमा विकास गर्न सकिन्छ ।’
०६६ चैत २० मा सुवेदीको संयोजकत्वमा गुरुयोजना बनाइएको थियो । समितिले ०६७ फागुन २७ मा गुरुयोजना तयार गरी तत्कालीन जिविसलाई प्रतिवेदन बुझायो । गुरुयोजनामा कृषिलाई प्राथमिकतामा राखिएको थियो । गुरुयोजनामा वसन्तपुर, गीतानगर, खोलेसिमल र पर्सा ढापलाई बजार क्षेत्र विकास गरी बाँकीलाई कृषि क्षेत्रका रूपमा समेटियो । ‘हामीले ठूलो महानगर चाहेका थियौं, तर सानो महानगर बन्यो,’ उनले भने, ‘अब प्राकृतिक सम्पदा प्रशस्त छ, यसलाई प्रयोग गरी महानगरको विकास गर्नुपर्छ ।’
महानगरपालिका घोषणा गरिएसँगै यसको नक्सा, जनसंख्या, वडा, महिला/पुरुषको संख्या, घरधुरी र क्षेत्रफल छुटयाउने काम सकिएको छ । ‘जिल्लाको प्रोफाइल बनाउन समय लाग्छ,’ भरतपुर महानगरपालिकाकी सूचना अधिकृत मेनका पण्डितले भनिन्, ‘जुन काम चाँडै सुरु हुनेछ ।’ महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले भरतपुर क्षेत्रको सम्पूर्ण काम कार्यान्वयनमा गएको बताए । ‘खाताको विषयबाहेक सम्पूर्ण कार्यान्वयनमा गइसकेका छौं,’ उनले भने, ‘सरकारले जारी गरेको निर्देशिकाअनुसार साबिकका गाविस र नगरपालिकामा भएका कैयौं अधिकार वडालाई प्रत्यायोजन भएको छ ।’ न्यूनतम योग्यता पुगेरै महानगरपालिका घोषणा भएको उनको दाबी छ । महानरपालिका भएपछि अन्तर्राष्ट्रिय सम्बन्धसमेत बढ्नेछ । ‘महानगरपालिका जबरजस्ती बनाइएको होइन,’ उनले भने, ‘योग्य भएरै बनाइएको हो, जिल्लालाई आर्थिक केन्द्र बनाउन सबै लागेका छौं ।’ महानगरपालिका घोषणासँगै जिल्लावासी पनि खुसी छन् । ‘महानगरपालिका हुनु राम्रो हो,’ पर्यटन व्यवसायी दिनेशकुमार चुकेले भने, ‘यसका लागि पूर्वाधार प्रशस्त छ ।’ उनले भरतपुरमा भएको विमानस्थल सार्न नहुने र त्यसैलाई क्षेत्र विस्तार गरी ठूलो बनाउनुपर्ने सुझाए ।

यस्तो छ नयाँ संरचना
जिल्लामा ८ पहाडी गाविस थिए । यस्तै भौगोलिक रूपले विकट सिद्धि र शक्तिखोरलाई कालिका नगरपालिका (कानपा) मा समावेश गरिएको छ । लोथर र कोराकलाई राप्ती नगरपालिकामा समावेश गरिएको छ । सिद्धिको २, ७, ८ र ९ वडालाई कानपाको १० र १, ३, ४, ५ र ६ लाई कानपाको ११ नम्बर वडामा समावेश गरिएको छ । त्यस्तै लोथरको १, २ र ३ लाई राप्तीको १२ र ४ देखि ९ वडालाई राप्ती नपाको १३ नम्बर वडामा समायोजन गरिएको छ । त्यस्तै कोराकको ५, ८ र ९ वडालाई राप्ती नपाको १० नम्बर वडामा राखिएको छ ।
१, ३ र ७ लाई राप्ती नपाको ११ र २, ४ र ६ लाई राप्तीकै १२ नम्बर वडामा समावेश गरिएको छ । कविलासको १ देखि ९ वडालाई भरतपुर महानगरको अन्तिम २९ नम्बर वडामा राखिएको छ । ४ पहाडी गाविसलाई मिलाएर इच्छाकामना गाउँपालिका बनाइएको छ । जसमा काउले, चण्डीभञ्ज्याङ, दारेचोक र दाहाखानी छन् । केन्द्र भने साबिकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय बनाइएको छ । त्यस्तै चित्रवन र नारायणी नगरपालिकालाई भरतपुर महानगरपालिकामा समायोजन गरिएको छ । जसको केन्द्र साबिकको भरतपुर उपमहानगरपालिकाको कार्यालयलाई बनाइएको छ । जिल्लामा १ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिका कायम भएको छ ।

चितवनको इतिहास
गुरुयोजनाका संयोजक सुवेदीका अनुसार २००६ सालमा मोहनशमशेर प्रधानमन्त्री हुँदा विजयशमशेरको नेतृत्वमा चितवनमा बसोबास बसाउन समिति बनेको थियो । २००७ सालको परिवर्तनपछि त्यत्तिकै भयो । पछि ०१३ सालमा चितवनका लागि प्रथम पञ्चवर्षीय योजनामा राम्रो बजेट व्यवस्था गरी बसोबास खुलाइयो । ०११ मा लमजुङलगायत मध्य पहाडी भेकमा बाढीले सर्वसाधारणको उठिबास लागेको थियो ।
तिनीहरूलाई बसोबास खुला गरियो । ०१६ मा हेटौंडा पुग्ने बाटो बन्यो । ‘सन् १९७२ हर्कमान गुरुङले एक कार्यक्रममा पुन:संरचना गरी ७५ जिल्लालाई २५ जिल्ला बनाउनुपर्छ भनेका थिए,’ उनले भने, ‘जसको राजधानी चितवनलाई बनाउने प्रस्ताव गरेका थिए ।’ ०६२/६३ को जनआन्दोलनपछि चितवनलाई केन्द्रीय राजधानी बनाउन राजनीतिक दलका नेता/कार्यकर्ता कस्सिए । त्यहीअनुरूप ०६७ मा जिल्लाको विकासका सम्बन्धमा योजना बनाउने उद्देश्यले गुरुयोजना बनाउने निर्णय भयो ।

बन्यो शैक्षिक हब
पहिला उच्च शिक्षाका लागि चितवनबाट काठमाडौं जानुको विकल्प थिएन । जिल्लामै राम्रो कलेज नहुनु र आफूले चाहेको विषय पढन नपाउनु मुख्य समस्या थियो । त्यसो त एसएलसी (एसइई) को रिजल्ट आउनसाथ काठमाडौंका निजी कलेज विद्यार्थी खोज्दै यता आउँथे । अहिले यो समस्या छैन । मेचीदेखि महाकालीसम्मका विद्यार्थी यहाँ पढन आउँछन् । राम्रा कलेज र गुणस्तरीय शिक्षा आफ्नै जिल्लामा पाइन थालेपछि जिल्लाका विद्यार्थी अन्यत्र जान छाडेका छन् । नर्सिङका लागि बीएस्सी, बीएन, एमएनसम्मको अध्ययन यहीं हुन्छ । २ मेडिकल कलेज छन् । कृषि, भेटनरी, वन विज्ञानमा डिग्रीदेखि पीएचडी गर्न मिल्ने कलेज यहीं छ । मेडिकलको क्षेत्रमा पीएचडी गर्न मिल्ने कलेजसमेत चितवनमै भएकाले बाहिर जानुपर्ने बाध्यता नरहेको शिक्षाविद् रामाकान्त सापकोटा बताउँछन् । ‘चितवन शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै गएको छ,’ उनले भने, ‘सस्तोमा आफूले चाहेको विषय पढ्न सकिन्छ ।’ गाउँगाउँमा कलेज बस पुग्ने भएकाले सदरमुकाममा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता पनि छैन । काठमाडौं र पोखराजस्तै चितवनमा पनि ‘ए’ लेभलको पढाइ हुन्छ । निजी स्कुल १७६ वटा छन् । सामुदायिकतर्फ कक्षा ११/१२ सञ्चालित मावि ४६, कक्षा १० सम्म सञ्चालित ४८ छन् । निजीतर्फ कक्षा ११/१२ सञ्चालित मावि १९ वटा छन् । शिक्षा कार्यालयका अनुसार २१३ प्राथमिक, ६९ निमावि, ९५ मावि र ५६१ प्राथमिक बालविकास छन् । त्यस्तै जिल्लामा १ सरकारी, २२ सामुदायिक र ६ निजी क्याम्पस छन् । ‘शैक्षिक हिसाबले चितवन मुलुककै अग्रस्थानमा पर्छ,’ सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख खेमनारायण सापकोटाले भने, ‘त्यही भएर उच्च शिक्षा अध्ययनका लागि चितवन हब हो ।’ उनका अनुसार चितवन सम्भावना धेरै भएको जिल्ला हो । ‘महानगर भयो, त्यही भएर यसका लागि धेरै सम्भावना छन्,’ उनले भने ।
सदरमुकाममा जुनसुकै ठाउँमा जान यातायातको सुविधा पुगेको छ । पर्यटक बसमार्फत काठमाडौं, पोखरालगायत जिल्ला पुग्न पनि सहज छ । महानगरपालिकाभित्र खानेपानी, बिजुली, सिनेमा हल, बैंक, होटलको समस्या छैन । त्यस्तै केही सुपरमार्केट निर्माण हुँदै छन् भने केही सञ्चालनमा छन् । पहाडी गाउँमा समेत मोटरबाटो विस्तार गर्दै लगिएको छ । नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति भइरहेको छ । निर्माण पूरा भएपछि यो फराकिलो बन्नेछ ।

स्वास्थ्यमा अब्बल
चितवनलाई मेडिकल सिटी बनाउने चर्चा लामो समयदेखि चल्दै आएको छ । मुलुककै मध्य भागमा पर्ने भएकाले उपचारका लागि अधिकांश जिल्लाबाट बिरामी यहीं आउँछन् । महानगरपालिकाभित्र २ सरकारी र झन्डै २ दर्जन निजी अस्पताल सञ्चालनमा छन् । रत्ननगर नगरपालिकामा छुट्टै सरकारी अस्पताल सञ्चालनमा छ । गाउँगाउँमा स्वाथ्यचौकीहरू सञ्चालनमा छन् ।?

उद्योग, कृषि, पर्यटन
चितवन पोल्ट्रीको राजधानीका रूपमा परिचित छ । यो क्षेत्रमा ३५ अर्ब लगानी छ । १ लाखदेखि १ अर्ब लगानी गर्ने किसान जिल्लामा छन् । यहाँ ७५ हयाचरी उद्योग छन् । १६ लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ । त्यस्तै लेयर्सको चल्ला ९० हजार प्रतिसाता उत्पादन हुन्छ । १० लाख गोटा अन्डा दैनिक उत्पादन हुन्छ । सिंगो देशको कुल गार्हस्थ उत्पादनमा चितवनको पोल्ट्रीले १.०५ प्रतिशत योगदान पुर्‍याएको छ ।

कान्तिपुरबाट