प्रधानमन्त्रीको चितवन विशेष प्याकेज अधिकांश योजनाहरु सडक पुर्वाधार (हेरौ काहां कति वजेज छ )

कुल काफ्ले 

चितवन, ९ चैत । प्रधानमन्त्रीको चितवन विशेष प्याकेज अन्तर्गतका अधिकांश योजनाहरु सडक पुर्वाधार विकास सम्बन्धि रहेको पाइएको छ । चितवनका विभिन्न कार्यक्रममा सहभागि हुन आएका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले यहां विकासको विशेष प्याकेज ल्याउने वताएका थिए । सोहि प्याकेज अन्तर्गतका योजनाहरु कार्यान्वयनमा लैजान जिल्ला समन्वय समिति चितवनले अहिले योजना सम्झौता एवं टेण्डर प्रकृयाका कामहरु गरि रहेको छ । यसै आर्थिक बर्ष २०७३/७४ मा सकिनुपर्ने गरि आएका थप नयां योजनाहरु मध्ये २० ओटा योजनाहरुको सम्झौता भइसकेको जिल्ला समन्वय समिति चितवनले जनाएको छ ।

तिनिहरुको उपभोक्ता समिति गठन गरि सम्झौता भएको जिल्ला समन्वय समितिका योजना शाखा अधिकृत टिकाराम कंडेलले जानकारी दिए । सम्झौता भएका योजनाहरुमा १२ ओटा योजनाहरु सडक पुर्वाधार विकास सम्बन्धि रहेका छन् । सडक पुर्वाधार विकासमा पनि अत्याधिक खैरहनि नगरपालिकाको विभिन्न ५ ओटा सडकहरु पिच गर्ने एवं स्तरोन्नति गर्ने योजनाहरु रहेको कंडेलले वताए ।

त्यस्तै चितवनका थप योजनाहरुमा रत्ननगर नगरपालिकाका ४ ओटा, भरतपुर महानगरपालिकाका २ ओटा र राप्ति नगरपालिकाको १ ओटा सडक स्तरोन्नति गर्ने योजना रहेको छ । सम्झौता भएका सबै थप योजनाहरु ६० लाख भन्दा थोरै लागतका रहेका छन् । जिल्ला समन्वय समिति चितवनले ६० लाख रुपैंया भन्दा कम लागतका योजनाहरु उपभोक्ता समिति मार्फत र त्यस माथिका योजनाहरु टेण्डर प्रकृया मार्फत सम्झौता गर्दै आएको छ । त्यस्तै ६० लाख भन्दा बढि लागतका १९ ओटा योजनाहरु टेण्डर प्रकृयमा गैसकेको योजना शाखा अधिकृत कंडेलको भनाइ छ ।
सबैभन्दा बढि भरतपुर महानगरपलिका १२ चेतनापोख्रेली सतह ढल विकास योजना, महानगरमा डम्पिङ साईट र फोहोरबाट विजुली निकाल्ने, भरतपुर टांडी पर्सामा सोलार लाईट र बृक्षारोपण एवं आंपटारीमा बाल उद्यान निर्माणका लागि जम्मा २ करोड १९ लाख रुपैंया लागतको योजना टेण्डर प्रकृयामा गएको छ । ८० लाखका २ ओटा योजनाहरु मध्ये भरतपुर त्रिचोकदेखि धर्मचोक लंकु सम्मको सडक कालोपत्रे र भरतपुर बनदेवी मन्दिर बरण्डाभार देखि कांडाघारी चोक सम्मको सडक कालो पत्रे गर्न योजना टेण्डर प्रकृयामा गएको छ । योजना कार्यान्वयनका लागि महानगरपालिकालाइ परिपत्र गरिसकिएको शाखा अधिकृत कंडेलले जानकारी दिए ।