निर्वाचनमा प्रहरीको सुरक्षा विश्लेषण, ४९ मतदान केन्द्र ‘अति संवेदनशील’

 
चितवन, ९ चैत ।   स्थानीय निकाय निर्वाचनमा चितवनका कुल १६१ मतदान केन्द्रमध्ये ४९ वटा सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको प्रहरीले विश्लेषण गरेको छ ।
अघिल्लो निर्वाचनमा भएका गतिविधि, जससंख्या स्थिति, भौगोलिक विकटता, निर्वाचन बहिस्कार गर्ने दलको गतिविधिलगायतलाई आधार मानी ४९ स्थानलाई सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशील केन्द्रको रुपमा लिइएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । साथै उनले ६० मतदान केन्द्र संवेदनशील र बाँकी केन्द्रहरु सामान्य रहेको बताए ।
‘अघिल्लो चुनावमा जिल्लामा भएका घटनाहरुको विश्लेषण गरेर यस पटकको चुनावका लागि सुरक्षा योजना तयार पारेका छौं, प्रहरी प्रमुख थापाले भने,‘निर्वाचनको समयमा शान्तिसुरक्षा नै प्रमुख आवश्यकता रहने हुँदा सुक्ष्म तरिकाबाट अध्ययन गरी काम गरिरहका छौं ।’
विगतका चुनावमा जिल्लामा भएका सुरक्षासँग सम्बन्धित घटनामा संलग्न दल, समूह तथा व्यक्तिको गतिविधि नियालिने उनले बताए । साथै चितवन जिल्लाका गाउँपालिका र केही नगरपालिका क्षेत्र भौगोलिक हिसाबले विकट रहेकाले सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने एसपी थापाले बताए । जनसंख्याको चाप उच्च रहेको ठाउँमा पनि सुरक्षा संवेदनशीलतालाई मूल्यांकन गरी काम गरिने उनले जानकारी दिए ।
गत चुनावको सन्दर्भमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग प्रतिक्रिया लिइ अबको चुनावका लागि सुझाव पनि मागिएको उनले बताए । हाल भइरहेको जनशक्ति र म्यादी प्रहरी परिचालन भएपछि सुरक्षा चुनौती कम हुने एसपी थापाले बताए । चितवनमा गत संविधानसभा चुनाव र क्षेत्र नम्बर ४ मा भएको उपनिर्वाचनमा कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
चुनाव लक्षित गरी तत्कालीन समयमा वैद्य निकट कार्यकर्ताले जिल्लाका विभिन्न स्थानमा चुनाव हुनु अघिल्लो रात बम पड्काएका थिए ।

चितवन पोष्ट दैनिकबाट