अटोरिक्सा बढीमा ४५ र ट्याक्सी ३५ रुपैयाँमा चढ्न पाइने

भरतपुर,२  चैत । भरतपुर महानगरमा मनपरी भाडा असुल्ने अटोरिक्सा तथा ट्याक्सीको भाडा निर्धारण गरिएको छ । यात्रुले पटक–पटक गुनासो गरेपछि यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गरेको छ ।
अटोरिक्सा तथा ट्याक्सीले रातको समय ज्यादै बढी भाडा असुल्दै आएका थिए । दिउँसो पनि यात्रीको मनोभाव विचार गरेर चर्को भाडा लिदै आएका थिए । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले तोकिएको भाडा भन्दा बढी भाडा लिइएको पाइए कडा कारबाही गरिने बताए । समितिले फागुन २६ गते निर्धारण गरेको भाडादर सोमबार सार्वजनिक गरेको छ ।
“हामीले सर्वपक्षीय छलफलबाट भाडादर कायम गरेका छौँ”, उनले भने, “छड्के चेकजाँच तथा सूचना पाएमा बढी भाडा असुल्नेविरुद्ध कानूनी कारबाही गर्नेछौँ ।” अटोरिक्साले अबदेखि कम्तीमा १५ रुपैयाँदेखि बढीमा ४५ रुपैयाँ मात्र लिन पाउनेछन् ।
रिजर्भमा जाँदा प्रति किमिको ३० रुपैयाँ लिन पाइनेछ । ट्याक्सीले चितवनमा प्रतिकिलोमिटर ३५ रुपैयाँ मात्र लिन पाउनेछन् । “निर्धारण भएको भाडादर यात्रुले देख्ने गरी टाँसेको हुनुपर्नेछ”, उनले भने, “मनलाग्दी भाडा लिइएको पाएमा जरिवाना तिराइनेछ ।” ईरिक्साको भाडाको तुलनामा अटोरिक्साको भाडा ५० प्रतिशतले बढी तोकिएको छ । चितवनमा झण्डै ८ सयको हाराहारीमा अटोरिक्सा सञ्चालनमा छन् । बजार क्षेत्रमा मात्रै झण्डै २ सय ५० वटा ट्याक्सी सञ्चालनमा रहेको अनुमान छ ।
अटोरिक्साको अधिकतम भाडा
–केन्द्रीय बस टर्मिनलबाट शरदपुरचोक वा प्रहरी शिक्षालयसम्म पुग्दा ३० रुपैयाँ
–वीरेन्द्र क्याम्पसबाट विशालचोक, भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, आँखा अस्पताल, नहरचोकसम्मका प्रत्येक चोकमा १५ रुपैयाँ
–भरतपुर अस्पतालबाट पुलचोक, शहीदचोक, क्यान्सर अस्पताल, नारायणगढ बसपार्कसम्म ३० रुपैयाँ
–चौविसकोठीबाट बुद्धचोक, क्यान्सर गेट, पेन्सन क्याम्पसम्म ३० रुपैयाँ
–मालपोत चोकबाट नौरङ्गे छेउसम्म ३० रुपैयाँ
–पुलचोकबाट क्यान्सर गेट पुग्दा ४५ रुपैयाँ, कटहरचोक ३५ रुपैयाँ, भरतपुर अस्पताल, दुर्गाचोक र मालपोत चोकसम्म ३० रुपैयाँ