नेपाल ७ विकेटले विजयी, शानदार जित, हरायो केन्यालाई

चितवन, फागुन ३० । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप छनोट खेल अन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ। १५६ रनको लक्ष्य पाएको नेपाल सात विकेटले विजयी भएको हो।

कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीको फराकिलो साझेदारीसँगै नेपालले जित हात पारेको हो। दुवै ब्याट्सम्यानले अर्धसतक पूरा गरेका थिए। ३०।२ ओभरमा जित हात पार्दा कप्तान मल्लले ६४ रनसहित नटआउट रहे। उनीसँगै बिस्फोट पारी खेलेका शरद भेषावाकरले ११ वलमा २४ रन जोडे।

मल्लसँग १०० रनको बढी साझेदारीका क्रममा एक छक्कासहित ऐरीले ६२ रन जोडेका थिए।

शुरुमै लगातार दुई विकेट गुमाउनु परेपनि मल्ल र ऐरीको साझेदारीले खेल लयमा फर्किएको थियो। ओपनर ब्याट्सम्यान सुनिल धमला एक रनमै क्याच आउट भएका थिए भने यसपछि सागर पुन ५ रनमै सीमित भए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो भएको केन्याले १५६ रनको लक्ष्य दिएको थियो।

केन्याका लागि कोलिन्स ओयुबाले सर्वाधिक ४८ रनको योगदान दिएका थिए भने इरफान करिमले ३८ रन बनाएका थिए। त्यस्तै, कप्तान राकिप पटेलले २१ रन जोड्दा एनएन ओडियाम्बोले १५ तथा करण कौलले १४ रन जोडेका थिए।

केन्याको पछिल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेपछि नेपालका सामु सामान्य लक्ष्य देखिएको हो।

केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका शरद भेस्वाकरले ७ ओभरमा २८ रन खर्चिदैँ ४ विकेट लिए भने मेहबुब आलम र वसन्त रेग्मीले दुईदुई विकेट लिए। आलमले ७ ओभरमा पाँच मेडन राख्दै ११ रन खर्चेर महत्वपूर्ण दुई विकेट हात पारेका थिए।

त्यस्तै सागर पुन र सन्दिप लामिछानेले एकएक विकेट लिए। सबै १० ओभर बलिङ गरेका एक मात्र नेपाली बलर लामिछानेले ३५ रन खर्चेका थिए। नेपालले केन्यालाई ४६।१ ओभरमै समेटेको थियो।

नेपालले शनिबारको पहिलो खेलमा भने केन्यासँग पराजित भएको थियो।