चितवनबाट बर्दिया पठाइएको गैंडा मृत भेटियो    

चितवन, फागुन २०  । वंश संरक्षणका लागि भनेर चितवनबाट बर्दिया स्थानान्तरण गरिएको दुर्लभ एकसिंगे गैंडामध्ये एउटा गै‌ंडा मरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चितवनबाट पठाइएको गैंडा मरेको पुष्टि गर्दै खाग खुर भने सुरक्षित रहेको जानकारी दिए।

यसअघि १ माघमा चितवनबाटै पठाइएको एउटा पोथी गैंडाले जन्माएको बच्चा बाघले खाइदिएको थियो। १८ फागुन बुधबार बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकास्थित धनुषे भन्ने स्थानमा गैंडा मृत भेटिएको  बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेश थापाले जानकारी दिए। उनका अनुसार गैंडाको मुटुबाहेक सबै भित्री अंग खराब भएको पाइएको छ। चिकित्सकद्वारा चरचरे भन्ने रोग लागेको अनुमान गरिए पनि थप अनुसन्धानका लागि नमुना संकलन गरेर बिहिबार चितवन पठाइएको थापाले जानकारी दिए।

चितवनको प्रकृति संरक्षण कोषको प्रयोगशालामा नमुना परीक्षण हुनेछ। सरकारी निर्णयमा ०७२ फागुन १९ देखि २२ गतेसम्म चितवनबाट ५ वटा गैंडा स्थानान्तरण गरिएको थियो। पाँचमध्ये २ भाले थिए भने २ ले बच्चा जन्माएका थिए। तीन वर्षमा बर्दिया र अन्य आरक्ष क्षेत्रमा गरेर ३० वटा गैंडा पठाउने तयारी छ।

यसअघि, पटक–पटक गरेर बर्दियामा ८३ वटा गैंडा पठाइएको भए पनि अधिकांश चोरी सिकारीबाट मारिएका थिए। पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन्। जसमा चितवनमा मात्रै ६ सय छन् भने बर्दियामा ३४ गैंडा छन् । यसपालि पनि चितवनबाट गैंडा स्थानान्तरण हुने चितवन निकुञ्जले जनाएको छ।