ध्वनी प्रदूषणले बढ्दैछ बहिरोपना

सविना खनाल

काठमाडौं, फागुन २० । अव्यवस्थित सहरीकरण, बढ्दो जनसंख्या, औद्योगिकीकर र सवारी साधनको चापका कारण ध्वनी प्रदूषण निकै बढेको छ। अझै सवारी साधनका प्रेसर हर्न तथा सडक, गल्ली र पार्टीहरुमा बज्ने लाउड स्पिकरले झनै हल्ला थपेको छ। यसरी बढ्दो ध्वनी प्रदूषणले मानिसहरुमा श्रवण शक्ति ह्रास भइरहेको छ।

नेपालमा ध्वनी प्रदूषणका कारण कति मानिसमा बहिरोपना छ भन्ने यकिन तथ्याङ्क नभए पनि केही वर्ष अगाडि गरिएको अनुसन्धानले २० प्रतिशत मानिस ध्वनी प्रदूषणकै कारण बहिरोपनाको सिकार भएको देखिएको छ। बढ्दो ध्वनी प्रदूषणको समस्यालाई न्यूनिकरणका लागि विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च ३ तारिखका दिन विश्व श्रवण दिवस मनाउँदै आएको छ।

नेपालमा पनि यही दिवसको अवसर पारेर अनियन्त्रित रुपमा बढ्दै गएको ध्वनी प्रदूषणलाई न्यूनिकरण गर्नका लागि ‘ध्वनी प्रदूषणलाई रोकौं, बहिरोपनाबाट बचौँ र बचाऔँ’ भन्ने मूल नाराका साथ पहिलो पटक आज (शुक्रबार) ‘श्रवण दिवस’ मनाइँदैछ।

ध्वानी प्रदूषण र त्यसले मानव स्वास्थ्यमा पारेको असर न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालय र राष्ट्रिय बहिरोपन निवारण समितिको आयोजनामा पहिलो पटक नेपालमा श्रवण दिवस मनाउन लागिएको समितिका सदस्य सचिव तथा वीर अस्पतालका नाक कान घाँटी रोग विभाग प्रमुख प्रा. डा. ढुण्डिराज पौडेलले बताए।

बहिरोपना हुनुको मुख्य कारणहरु :

कानको संक्रमण : कानको बाहिरी संक्रमण, मध्य कानको संक्रमण र भित्री कानको संक्रमण नै मुख्य बहिरोपनाका मुख्य कारण हुन्। रुघाखोकी लाग्नु, कानमा चोटपटक लाग्नु, कान कोट्याउने बानी, फोहोर पानीमा पौडी खेल्नु, विभिन्न प्रकारका झोल प्रदार्थहरु कान भित्र हाल्नु लगायतका कारण कानमा संक्रमण हुनेगर्छ। यसले विस्तारै प्रभाव बढाउँदै लैजाँदा श्रवण शक्तिमा ह्रास आउन थाल्छ।

‘पछिल्लो केही वर्षमा संसारमा बढ्दै गएको औद्योगिकीकरण, सहरीकरण, सवारी साधनको चाप र तिनीहरुबाट निस्किने चर्को आवाज, लामो समयसम्म एयर फोन लगाएर गीत सुन्ने बानीले गर्दा पछिल्लो समय ध्वनी प्रदूषण बढ्दै गएको छ,’ डा. पौडेल भन्छन्, ‘त्यसको असरले मानिसमा बहिरोपना पनि बढ्दै गएको छ।’ उनले अघि भने, ‘बीस वर्ष अगाडि गरिएको एक अनुसन्धानमा नेपालका १६ प्रतिशत मानिसमा ध्वानी प्रदूषणकै कारण बहिरोपन हुने गरेको छ।’

ध्वनी प्रदूषणले मानसिक समस्यादेखि मुटुरोगसम्म

सानै उमेरदेखि घण्टौँसम्म एयरफोन लगाएर म्युजिक सुन्दा कानमा रहेका सेलहरु मर्ने गर्छन्, यसका साथै वृद्धि विकासमा नकारात्मक असर पर्ने तथा मनोवैज्ञानिक समस्या पनि देखिने गर्छ। यसले नकारात्मक मनोवैज्ञानिक र शारीरिक असरसमेत पर्न सक्ने प्रा. डा. पौडेलले बताए।

‘वृद्धवृद्धा, मधुमेहका रोगीलाई ध्वनी प्रदूषणले झनै नकारात्मक असर पर्न सक्छ, छिट्टै बहिरो बनाउन पनि सक्छ। ध्वानी प्रदूषणका कारण मानिसहरुमा मानसिक समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘ठूलो आवाजले गर्दा मानिसमा झिँजो लाग्ने, डर लागिरहने, कुनै कुराप्रति एकाग्रता नहुनेजस्ता मानसिक समस्या देखिने गरेको छ।’

यसले कानमा टिङऽऽऽऽ आवाज आइरहने तथा मुटुमा समेत असर गर्ने पौडेल बताउँछन्। ‘चर्को आवाजले गर्दा मुटुको धड्कन बढ्दै गएपछि रक्तकोषहरुमा असर गर्ने, चिडचिडापन उत्पन्न गराउनुका साथै मुटु वा रक्तप्रवाहमा पनि नकारात्मक असर गर्छ र पछि गएर मानिसमा गम्भीर खालका मुटु रोग लाग्ने सम्भावना धेरै हुन्छ,’ उनले भने।