खाली जग्गामा वृक्षरोपण गर्नुपर्नेमा जोड

सविता रेग्मी
चितवन, १७ फागुन । चुरे क्षेत्रमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वन निर्माण गर्दै चुरेको संरक्षण गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । भरतपुरमा मंगलबार आयोजित चुरे संरक्षण तथा कयर नदी व्यवस्थापन विषयक गोष्ठीका क्रममा चुरेमा पर्ने नदी उकास क्षेत्रमा वृक्षारोपण गर्न सकेमा चुरेको संरक्षण हुने सरोकारवालाहरुको भनाइ थियो ।
कार्यक्रममा चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले नदी उकास क्षेत्रमा सार्वजनिक जग्गा समूह निर्माण गरि त्यहाँ वन निर्माण गर्दै स्थानीयलाई हस्तान्तरण गर्नुपर्ने बताए । जिल्ला वन कार्यालयले चुरे संरक्षणका लागि भर्खर उम्रेका कलिला विरुवाहरु भन्दा दुई वा दुई वर्षभन्दा माथिको, बहुबर्षे बिरुवा रोप्ने तयारी गरेको पौडेलले जानकारी दिए । चुरे क्षेत्रमा रहेका नदी प्रभावित क्षेत्रको नक्सांकन गर्ने काम भइरहेको उल्लेख गर्दै पौडेलले खुला क्षेत्र र नदीजन्य पदार्थ निकासीमा रोक लगाउनुपर्ने क्षेत्र पहिचान गरिने बताए ।
चुरेको संरक्षणको लागि तीन वटा खोलामा निश्चित क्षेत्रबाट मात्रै ढुंगा, गिटी, बालुवा निकाल्ने काम गर्नुपर्नेमा पौडेलले जोड दिए । कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै संरक्षण नेपाल बाराका कार्यक्रम संयोजक रमेश कुमार शाहीले चुरे संरक्षण कार्यक्रमसँग सम्बन्धित आवश्यक समूहहरु गठन गरी नदी प्रणालीस्तरमा संजाल निर्माण गर्ने बताएका छन् । विद्यालयमा चुरे संरक्षणका लागि ईको क्लव संचालन र संरक्षण शिक्षा कार्यक्रम संचालन गर्ने उदेश्य रहेको उनको भनाइ छ । चुरे पहाड प्राकृतिक रुपमा अत्यन्तै संवेदनशील क्षेत्र रहेको, अत्यन्तै कम वर्षाले समेत चुरे क्षेत्रका बस्तीहरुमा भू–क्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको समस्या रहेको शाहीको भनाइ छ ।
चुरे क्षेत्रको वन विनाशले वन्यजन्तु तथा चराचुरुङगीहरुको समेत लोप हुँदै गइरहेको, उनीहरुको बासस्थानमा समेत प्रतिकुल असर परेको शाहीले गुनासो गरेका छन् । पाँच सय ९९ विघा आठ कठ्ठा १४ धुरमा कयर नदीले क्षती पु¥याएको जानकारी दिँदै यस्तो क्षतीलाई न्यूनीकरण गर्न गम्भीर रुपमा सोच्नुपर्ने आवश्यकता समेत रहेको शाहीले बताए । कार्यक्रम संरक्षण नेपालका अध्यक्ष ब्रिजमोहन कुशवाहको अध्यक्षतामा भएको थियो ।