सबै जातजातिलाई समेट्नुपर्नेमा जोड

चितवन, १४ फागुन । नयाँ शक्ति नेपाल पार्टीका सहसंयोजक रामचन्द्र झाले राष्ट्रवाद जोगाउन आदीवासी जनजातिको पहिचान स्थापित गर्नुपर्ने बताएका छन् ।
11

तमु राष्ट्रिय परिषद् नेपाल तीन नम्बर प्रदेशको राष्ट्रिय भेलालाई शनिबार भरतपुरमा सम्बोधन गर्दै झाले बराबरीको अधिकार दिएर राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताए । इन्द्रधनुष जस्तो विभिन्न राष्ट्रियता समावेश गरेर मात्रै राष्ट्रवाद हुन्छ उल्लेख गर्दै सह संयोजक झाले राज्यमा सबै समुदायको अस्तित्व स्वीकार गर्नुपर्ने बताए । राष्ट्र निर्माणमा गोपालवंशी, लिच्छिवी लगायतले महत्वपूर्ण भूमिका खेलेका उनको भनाइ थियो ।
अखण्ड नेपाल जोगाउन ऐतिहासिक समयमा हरेक समुदायको स्वामीत्वलाई स्मरण गर्नुपर्ने झाको भनाइ थियो । सबै समुदायलाई नसमेटे राष्ट्रियता मजबुत नहुने उनले बताए । अखण्ड राष्ट्रको विपक्षमा आदीवासी, जनजाती, मधेसी नरहेको बताउँदै उनले भने, “एक समुदायले अर्को समुदायको अस्तिव स्वीकार गर्नसक्नुपर्छ ।
सो कार्यक्रममा तमु राष्ट्रिय परिषद् नेपालका केन्द्रीय संस्थापक विनोदकुमार गुरुङ्, परिषद्का केन्द्रीय संयोजक दुर्गा गुरुङ्, पार्टीका आमन्त्रित सचिवालय सदस्य जीतबहादुर गुरुङ्, पार्टी केन्द्रीय परिषद् सदस्य रुद्र गुरुङ्, चित्र गुरुङ्, पिङ्की गुरुङ, सोनाम स्यानत्याङ्, विश्व शान्ति बौद्ध गुम्बाका अध्यक्ष खड्कबहादुर गुरुङ्, तमु गुठीका नवराज गुरुङ्, पार्टीका भरतपुर नगर संयोजक कमल आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम पार्टी केन्द्रीय सदस्य कमला गुरुङ्को अध्यक्षतामा भएको थियो ।