स्ववियु निर्वाचन प्रकृया अगाडि बढाउन माग राख्दै क्याम्पस प्रमुखलाई थुनियो

चितवन, १४ फागुन । त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते तोेकेको स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचन गर्नको लागि प्रकृया अगाडि बढाउन भन्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख सहित सहायक क्याम्पस प्रमुखहरुलाई विद्यार्थीले थुनेका छन् ।
SMC

स्ववियु निर्वाचन हुने अन्य क्याम्पसहरुमा निर्वाचन प्रक्रिया बढि रहँदा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै शुक्रबार क्याम्पस प्रमुख र तीन जना सहायक क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले व्यवस्थापन विभागमा थुनेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य आंगिक क्याम्पसहरुमा अहिले स्ववियुको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । यद्यपि सप्तगण्डकी बहुमुखी क्याम्पसमा निर्वाचनको लागि कुनै पनि प्रक्रिया अघि नबढाइएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेको जनाएका छन् ।
अनेरास्ववियु, नेविसंघ, विप्लब समर्थित अखिल (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियनले क्याम्पस प्रमुख खेमनारायण सापकोटा, सहायक क्याम्पस प्रमुखहरु टिकाराम देवकोटा, देनप्रसाद लामिछाने र कृष्ण घिमिरेलाई व्यवस्थापन विभागमा थुनेर राखेका हुन् । क्याम्पस प्रशासनले स्ववियू निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिवद्धता नजनाएसम्म व्यवस्थापन विभागमा नै थुनेर राख्ने अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पस एकाई सभापति एवम् स्ववियू सभापति उम्मेदवार शिवलाल ढकालले बताए ।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १८ गते घोषणा गरेको स्ववियु निर्वाचनका लागि अन्य क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अघि बढेपछि विद्यार्थीहरु निर्वाचनमा होमिएका छन् ।
क्याम्पस प्रशासनसँग लामो समय कुरा गर्दा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नतर्फ कुनै चासो नदेखाइएकाले क्याम्पस प्रमुख सहित सहायक क्याम्पसलाई कोठामा थुनिएको ढकालले जानकारी दिए । विद्यार्थी संगठनहरुबीच बिबाद भएका क्याम्पसमा समेत निर्वाचन प्रकृया अगाडि बढिरहेको सन्दर्भमा कुनै िबबाद नै नभएको सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्रशासनले निर्वाचन प्रक्रिया अघि नबढाएको विद्यार्थी संगठनहरुको आरोप छ ।