सुरक्षा निकायलाई माइती नेपालको प्रशिक्षण

चितवन, ८ फागुन । माइती नेपालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अपराध अनुसन्धान शाखामा कार्यरत कर्मचारीहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ ।
मानव बेचबिखन सम्बन्धी कानुनी व्यवस्था र बेचबिखनमा पीडितहरुको न्यायमा पहुँचसम्बन्धी विषयमा तालिम केन्द्रित रहेको थियो । कार्यक्रममा नेपाल बार एशोसियनका अध्यक्ष गोपिलाल देवकोटा, पिपुल फोरमका कानुनी सहायता अधिकृत सूर्य बहादुर बोहरा र माइती नेपालका क्षेत्रीय संयोजक युवराज दबाडीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै देवकोटाले महिलाहरुलाई विशेष गरेर देहव्यापार गर्ने उदेश्यले बेचबिखन गरिने बताएका छन् ।
Maiti Nepal

मानव बेचबिखनमा पुरुष मात्र नभएर महिला समेत अग्रसर रहेको पाइएको उनको भनाइ छ । बेचबिखनबाट बच्नको लागि प्रहरीमा मात्र भर नपरीकन आम सर्वसाधारण समेत आफैँ सजग हुनुपर्ने उनले बताएका छन् । कानुनी क्षेत्र लगाएत मानव बेचबिखनबाट सजग हुनको लागि विद्यालय तहमा समेत कानुनी विषयको अध्यापन गराइनुपर्ने सुझाव समेत दिएका छन् ।
यस्तै तालिममा बोल्दै पिपुल फोरमका कानुनी सहायता अधिकृत तथा अधिवक्ता सूर्य बहादुर बोहराले बैदेशिक रोजगारका नाममा आधिकारीक दर्ता नभएको एजेन्ट मार्फत मानिसहरु बढी ठगिने गरेको बताएका छन् । दर्ता भएको म्यानपावरको चितवनमा कमी रहेकोले पनि गैरकानुनी रुपमा वैदेशिक रोजगारको नाममा ठगि भइरहेको गुनासो गरेका छन् । बोहराका अनुसार पिपुल फोरमले विभिन्न गाविसहरुमा जनचेतनामूलक कार्यहरु गर्दै आएको छ ।
कार्यालयमा आउने व्यक्तिहरुलाई मुद्दामामिला लगायतका अन्य कानुनी क्षेत्रमा समेत निशुल्क सेवा र सरसल्लाह दिने गरेको बोहराको भनाइ छ । उनका अनुसार ६ वटा जिल्लामा फोरमको कार्यालय रहेको छ । माइती नेपालका क्षेत्रीय संयोजक युवराज दवाडीले कार्यक्रममा मानव बेचबिखन र वैदेशिक रोजगारबीच नङ र मासुको सम्बन्ध रहेको बताएका छन् । उनका अनुसार वैदेशिक रोजगारलाई सुरक्षित गर्न सकेमा मात्र मानव बेचबिखनमा कमी आउन सक्छ ।
माइती नेपालले सुरक्षा निकायका व्यक्तिसँग सहकार्य गरेर चेलीबेटी बेचबिखन र बालबालिका बेचबिखच विरुद्ध काम गर्ने भएको कारण उनीहरुलाई प्रशिक्षण दिइएको दवाडीको भनाइ थियो । प्रहरीको मुद्दा शाखामा पीडकको मुद्दा कमजोर नहोस् र पीडितले न्यायको अनुभूति गर्न पाओस् भनेर प्रशिक्षण आयोजना गरिएको दवाडीले बताए ।