बाल्मिकी र एडभेन्चर राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको फाइनलमा

चितवन, ०६ फागुन । भरतपुरको बाल्मिकी शिक्षा सदन र भरतपुरकै एडभेन्चर इंग्लिस स्कुल राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको फाइनलमा प्रवेश गरेको छ । खेलपछि सेमिफाइनलको खेलमा बाल्मिकीले भरतपुरको सनराइज इंग्लिस स्कुललाई ३९ रनले पाखा लगायो । त्यस्तै अर्को खेलमा एडभेन्चरले कल्याणपुरको स्मल हेभन स्कुलको चुनौतिलाई २८ रनले समाप्त पार्यो ।
विशाल चोकस्थित नौ बिगाहा मैदानमा ८४ रनको सामान्य लक्ष्य पछ्याएको सनराइज १२ दशमलव ३ ओभरमा सबै विकेट खेर फाल्दै ४४ रनमा रोकिन पुग्यो । सनराइजका आशिष वम्शीले १० रन बनाएका थिए । बाँकी खेलाडीको प्रदर्शन निकै फितलो देखियो । बाल्मिकीको जितमा मनिष थापाले ३ तथा अनुराग सुवेदी र सुजन भट्राईले समान २ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाल्मिकीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटिएको थियो । उस्का लागि समिर अधिकारीले १५, विप्लव गुरुङ र मनिष थापाले समान १२ रन स्कोर गरे । बलिङतर्फ सनराइजका आशिष लम्सालले ४ र सुलभ बरालले ३ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । अलराण्ड प्रदर्शन गरेका मनिष थापा खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको एडभेन्चरले १८ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय १२ रनको योगफल तयार पारेको थियो । एक समय २३ रनमा ४ विकेट गुमाएको टोलीका लागि विष्फोटक ब्याटिङ गर्दै उक्त स्कोर खडा गरेको थियो । एडभेन्चरलाई जिताउन आकाश गुरुङले २५, पर्वत श्रेष्ठले २३ र सन्देश राना मगरले १८ रन बनाएका थिए । स्मल हेभनका लागि सचिन सिंहले ४ र कप्तान विधान देवकोटाले २ विकेट झारेका थिए ।16805077_10212172282044903_1429961905_o
१ सय १३ रनको लक्ष्य पछ्याएको स्मल हेभन १४ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८४ रनमात्र बनाउन सक्यो । स्मल हेभनका अमित यादवले १५, रितिक यादव ११ र विधान देवकोटाले १० रन जोडेका थिए । एडभेन्चरको जितमा प्रयास गौतमले एक्लैले ६ विकेट हात पार्न सफल भए । उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।
उत्कृष्ट बलिङ गरेका प्रयास गौतम खेलको म्यान अफ द म्याच घोषित भए । खेल हेर्न आएका दर्शकमध्येबाट सुरुची बोहोरा लक्की ड्रमार्फत एक्सपर्ट फ्यान अफ द डे को घोषित भएकी छिन । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान गर्यो ।
चितवन र आसपासका १० विद्यालयको सहभगितामा सञ्चालन भैरहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ । प्रतियोगिताको आयोजक हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौ हो भने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस मुख्य प्रायोजकको रुपमा रहेको छ ।