अशिक्षाको कारण मानव बेचबिखन बढ्दो

चितवन, ३ फागुन । अशिक्षा र जनचेतनाको कमीका कारण मानव बेचबिखन हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।
माइती नेपालको आयोजनामा मंगलबार नारायणगढमा आयोजीत यातायात मजदुरहरुको लागि अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले गरिबी, बेरोजगारी बढी भएको ठाउँका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेको बताएका छन् । कार्यक्रममा माइती नेपाल मध्यमाञ्चल क्षेत्रीय संयोज युवराज दवाडीले पछिल्लो समय पश्चिमेली खुला र छाडा संस्कृतिको कारण तथा बढ्दो सहरीकरणले समेत मानव बेचबिखन हुने गरेको बताए । सवारी मजदुरहरुलाई मानव बेचबिखनको बारेमा जानकारी गराउन सकेमा बेचबिखनमा न्यूनीकरण हुने विश्वासका साथ अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
मानव बेचबिखन हुनुको मुख्य कारण भनेको देह व्यापारका साथै घरेलु कामदार, कारखानामा सस्तो मूल्यमा मजदुरी गराउन, सर्कस वा उत्तेजीत नाचमा प्रयोग गर्न रहेको दवाडीको भनाइ थियो । समाजमा हेपिएका रोजगारको खोजीमा रहेका, रेष्टुरेन्टमा काम गर्ने युवतीहरु बेचबिखनमा पर्ने सम्भावना भएको पिपुल फोरम चितवनका कार्यक्रम संयोजक तथा अधिवक्ता सूर्य बहादुर बोहोराले बताए ।
वैदेशिक रोजगारमा ठगिन पुग्नु पनि एक प्रकारको मानव बेचबिखन भएको उल्लेख गर्दै बोहोरालो वैदेशिक रोजगारमा जाँदा काम गर्ने ठाउँ, पाउने पारिश्रमिक सबैको बारेमा जानकारी हुनुपर्ने बताए । वैदेशिक रोजगारमा जाँदा म्यानपावर कम्पनीलाई बुझाएको पैसाको रसिद लिनुपर्ने भन्दै विदेशमा गएर सम्झौता अनुसारको काम नपाए पठाउने कम्पनीलाई कारबाही गर्दै पीडितलाई क्षतिपूर्ती उपलब्ध गराइने बोहोराले बताए ।