भ्याली स्टेट कलेजमा ट्राफिक शिक्षा

चितवन, २८ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक शिक्षालाई व्यापकता दिँदै गएको छ ।
ट्राफिक शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउँदा दुर्घटना न्यूनीकरण हुने भन्दै ट्राफिक प्रहरीले ट्राफिक शिक्षामा जोड दिएको हो । ट्राफिक शिक्षा मार्फत जनचेतना फैलाउने उद्देश्यले शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर ९ मा रहेको भ्याली स्टेट कलेजका विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष पन्तले कलेजका विद्यार्थीहरुलाई विश्वको सवारी दुर्घटनाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
नेपालमा दुर्घटना हुने कारण, बाटोको अवस्था, चालक र पैदल यात्रीले अपनाउनुपर्ने सडक लेनको बारेमा पन्तले प्रशिक्षण दिएका थिए । युवा विद्यार्थीहरु मार्फत ट्राफिक शिक्षा प्रदान गर्दा प्रभावकारी हुने भएकाले उनीहरुलाई प्रशिक्षण दिइएको पन्तको भनाइ थियो ।