एम्बुलेन्स चालकको निशुल्क आँखा परीक्षण

चितवन, २८ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र संयुक्त एम्बुलेन्स चालक संघ चितवनको आयोजनामा एम्बुलेन्स चालकहरुको लागि निशुल्क आँखा परीक्षण गरिएको छ ।
३१ जना एम्बुलेन्स चालकको आँखा परीक्षणमा भरतपुर आँखा अस्पतालसँग सहकार्य गरिएको ट्राफिक प्रहरी निरीक्षक पन्तले जानकारी दिए । आँखा परीक्षणमा चालकहरुको आँखाको अवस्था सामान्य देखिएपनि तीन जना चालकको आँखामा कलर ब्लाइन्ड देखिएको पन्तले बताए । ती तीन जना चालकको आँखा पुनः परीक्षण गरिने बताउँदै प्रहरी निरीक्षक पन्तले एम्बुलेन्सका कारण दुर्घटना नहोस् भनेर एम्बुलेन्स चालकको आँखा परीक्षण गरिएको जानकारी दिए ।
एक महिनामा भएका सवारी दुर्घटनामा तीन वटा घटनामा एम्बुलेन्स समेत परेकाले एम्बुलेन्स चालकहरुको आँखा परीक्षण गरिएको पन्तको भनाइ थियो । एम्बुलेन्सको प्राविधिक कुराहरुको बारेमा प्राविधिकहरुले चेकजाँच गर्नुपर्ने भएको र चालकको आँखा परीक्षण गर्दा समेत आँखाको कारण दुर्घटना भएको भए पत्ता लाग्ने भएकोले आँखा परीक्षण गरिएको पन्तले बताए ।