आँबुखैरेनीमा ११ जना बालिकाको सामुहिक बेल विवाह सम्पन्न

विनोद श्रेष्ठ
माघ २५, तनहुँ ।

“अमूल्य भाषा, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरौ” भन्ने मूल नाराका साथ आँबुखैरेनी नेवा खलः आँबुखैरेनीले ३ दिने सामुहिक बेल विवाह कार्यक्रम सोमबार सम्पन्न गरेको छ । आँबुखैरेनीको शिवालय मन्दिर परिसरमा ५ देखि १३ वर्षका ११ जना बालिकाहरुलाई नेवारी परम्परा अनुसार विधिवत् रुपमा बेल विवाह सम्पन्न गरेको हो ।

cover

 

नेवारी समुदायका छोरीहरु तीन पटक सम्म विवाह गरिने परम्परा रहदै आएको छ जसअन्तरगत पहिलो पटक बेल सँग विवाह गरिने गरिन्छ । धर्मशास्त्र अनुसार बालिकालाई रजश्वला हुनु भन्दा अघि बेल सँग विवाह गरिदिने प्रचलन रहेको छ । बेललाई शिवका पुत्र कुमारको रुपमा लिई विवाह गर्ने गरिन्छ । विवाहको सँगै बालिकाले दिनभर व्रत वसी बेल लगाएत कलश, बज्र, चक्र आदिको पुजाआजा गर्ने गरिन्छ । विधिवत् रुपमा पुजाआजा गरी विवाह गर्ने बालिकाको बुबाले कन्यादान दिएपछि सो विवाह सम्पन्न हुने गर्दछ । एक पटक बेलसँग विवाह गरेपछि यदि भविष्यमा उनको विवाहित श्रीमान्को मृत्यु भैहाले पनि उनले विधवाको रुपमा बस्नु नपर्ने सामजिक मान्यता रहेको छ ।
आँबुखैरेनीमा पहिलो पटक गरिएको सामुहिक बेल विवाह कार्यक्रम आउने वर्षहरुमा पनि निरन्तरता दिने आँबुखैरेनी नेवा खलका अध्यक्ष पुजन श्रेष्ठले जानकारी दिनुभयो साथै उहाँले यसरी सामुहिक रुपमा गरिने कार्यक्रमले आफ्नो संस्कृतिको संरक्षण हुनुका साथै आर्थिक मितव्ययिता पनि हुने बताउनुभयो ।