व्यावसायिक पत्रकारितामा जोड

चितवन, २५ माघ । पत्रकारहरुले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै प्रेस चौतारीसँग आवद्ध केन्द्रीय नेताहरुले व्यावसायिक पत्रकारिता गर्दै पत्रकारहरुले आफ्नो सीप र क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।
1

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपालले नेपालमा रहेका श्रमजिवी पत्रकारहरुको मुद्दालाई स्थापित गर्ने काम गरेको बताएका छन् । पत्रकारको क्षमता अभिवृद्धि गर्न, सञ्चार माध्यमको विकास गर्न, महिला दलित, जनतजाति लगायतका वर्गलाई कार्य समितिमा समेट्ने कुरामा नेपालका अन्य पत्रकार संगठन भन्दा धेरै अगाडि भएको बस्नेतले बताए ।
2

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पत्रकारिता क्षेत्र भनेको यथार्थ हुनुपर्ने बताए । पत्रकारिता मार्फत सबै क्षेत्रमा रहेका विकृति बिसंगति चिर्नको लागि प्रेस चौतारीमा आवद्ध व्यक्तिहरुले कलम चलाउनुपर्नेमा थापाले जोड दिए । प्रेस चौतारीका सदस्यहरु झण्डावाला कार्यकर्ता नबन आग्रह गर्दै थापाले व्यवसायिक पत्रकारितामा अगाडि बढ्नको लागि आग्रह गरे । पत्रकारहरुले वकिललाई जस्तै झुटलाई पनि सत्यमा परिणत गर्ने काम गर्न नहुने थापाको भनाइ थियो ।
3

कार्यक्रममा नेकपा एमाले प्रचार विभाग सचिव विष्णु रिजालले प्रेस चौतारीका सदस्यहरुले आफ्नो क्षमता र सीपको विकास गर्न तर्फ लाग्नुपर्ने बताए । पार्टी भन्दा पहिले पेसा भएकाले पेसालाई मर्यादित बनाउन प्रेस चौतारीका सम्पूर्ण सदस्यहरु लागिपर्नुपर्नेमा रिजालले जोड दिए । कार्यक्रममा प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले समाजलाई जोड्ने काम कलमले गर्नुपर्ने भन्दै सूचना प्रवाह र विचा प्रवाहमा स्थानीय सञ्चार माध्यमको ठूलो भूमिका भएको बताए ।
4

यसैबीच, प्रेस चौतारी चितवनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विभिन्न ३० जना भन्दा बढी पत्रकारहरुलाई प्रेस चौतारीमा स्वागत गरिएको छ । चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा प्रवेश गरेका नयाँ सदस्यहरुलाई मंगलबार स्वागत गरिएको हो । नव प्रवेशी पत्रकारहरुलाई नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापा, सचिव विष्णु रिजाल, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टिका विष्ट, महासचिव राजेश राईलगायतको टोलीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र अर्याल, महासचिव राजेश राई, उपाध्यक्ष टिका विष्ट, नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए । प्रेस चौतारी चितवन शाखाका अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला ईन्चार्ज शालिग्राम नेपालले स्वागत मन्तव्य राखेका थिए ।