संशोधनको नाममा संविधान कार्यान्वयनलाई अड्काउन नमिल्न

चितवन, माघ २५ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले संशोधनको नाममा संविधान कार्यान्वयनलाई अड्काउन नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवन क्षेत्र नम्वर ४ ले कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गिय सुशिल कोईरालाको प्रथम स्मृति दिवसको अवसरमा मंगलबार आयोजना गरेको वृहत नि शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्वर्गिय शुसिल कोईरालाले संविधान जारी गरेको भन्दै उनको सम्मानका लागि संविधान कार्यान्वयन आवश्यक रहेको उनले बताए । संविधान कार्यान्वयनले मात्र पूर्व प्रधानमन्त्री कोईरालाको सम्मान हुने उनको भनाइ थियो ।

अहिले संविधान कार्यान्वयन गर्न निर्वाचन गरेर अघि बढ्नु आवश्यक रहेको नेता गुरुङले बताए । पछिल्लो समयमा संविधान कार्यान्वयनमा देखिएको चुनौतीलाई समाधान गर्दै अघि बढ्न सबै दल एक ठाउंमा हुनुपर्ने उनको भनाइ छ । कोईरालाले संविधान जारी गर्ने समयमा गरेको योगदानको कदर राजनैतिक दलहरुले गर्न नसकेको नेता गुरुङले बताए ।

सो अवसरमा व्यवस्थापिका संसद सदस्य विष्णुमाया परियार, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ्, नेपाली कांग्रेस चितवन क्षेत्रीय सचिव गोपाल दराई लगाएतले बोलेका थिए । शिबिरमा आंखा, नाक कान घांटी रोग विशेषज्ञ, मेडिकल विभाग, स्त्रीरोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, हाडजोर्नि रोग, बालरोग, मानसिक रोग विशेषज्ञले सेवा दिएका थिए । कार्यक्रम नेपाली कांग्रेस चितवन क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।