क्यान्सरबारे चिकित्सकको सुझाव : “खानपानमा ध्यान दिउँ”

आनन्द पोखरेल
चितवन, २२ माघ । विश्वमा वर्षेनि क्यान्सर रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । मानिसको आहार बिहारमा ध्यान नदिँदा क्यान्सर रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् ।
canक्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रहरु हुँदै आएका छन् । यसै सन्दर्भमा रहेर विश्वमा क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउन हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी ४ का दिनमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सर दिवसको अवसर पारेर क्यान्सर न्यूनीकरण गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुने गरेका छन् ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर सिबी पुनले मानिसमा रहेको कोषको अनियन्त्रित रुपमा वृद्धि हुनु क्यान्सर रोगको लक्षण भएको बताए । मानिसको शरीरमा घाउ भएमा स्वतः कोषहरुको उत्पादनमा वृद्धि हुने र घाउ निको भएपछि कोषको वृद्धि घट्ने भएपनि क्यान्सर लागेका बिरामीको कोषको वृद्धि नरोकिने पुनको भनाइ छ ।
नेपालमा क्यान्सर रोगका बिरामीहरु पहिलेको भन्दा बढी भेटिदै गएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उप कार्यकारी निर्देशक डाक्टर देज कुमार गौतमको भनाइ छ । मानिसको दैनिकीका कारण ४० देखि ५० प्रतिशतसम्म क्यान्सर लाग्ने गरेका गौतमले बताए । धुमपान र अल्कोहल सेवनका कारण क्यान्सर लाग्ने सम्भावना धेरै हुने गौतम बताउँछन् ।
caक्यान्सर रोग विरुद्धको खोपहरुको विकास गर्न सकेमा क्यान्सर रोगको रोकथाममा सहयोग पुग्ने क्यान्सर रोग विशेषज्ञ डाक्टर देज कुमार गौतमले बताए । क्यान्सर रोगबाट जोगिनको लागि नियमित व्यायम, खानपानमा ध्यान दिँदै, चुरोट तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने गौतमको सुझाव छ ।
पछिल्लो समय भयावह बन्दै गएको क्यान्सर रोगको बेलैमा उपचार गर्न सकेमा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहेको चिकित्सकहरु बताउँछन् । क्यान्सर रोगको निदान र उपचारको लागि सरकारले दिने सहयोग वृद्धि गर्दै जनचेतना फैलाउन सकेमा क्यान्सरका बिरामीहरुको संख्यामा कमी आउन मद्दत पुग्छ ।