जिल्ला स्तरीय तेक्वान्दो सुरु

चितवन, २१ माघ । लियो क्लब अफ भरतपुरको आयोजनामा भरतपुरमा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन शुक्रबार जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केश आचार्य र राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । शनिबारसम्म हुने प्रतियोगितामा जिल्लाका तीन सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । माडी क्षेत्रबाट मात्रै प्रतियोगितामा सहभागिता जनाउनका लागि ५० जना भन्दा बढी प्रतिस्पर्धीहरु सहभागी भएको खेलमा शुक्रबार जुनियर तर्फका प्रतियोगिताहरु सम्पन्न गरिएको छ ।
प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई माघ २८ र २९ ग ते चितवनमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी गराइने श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा चितवनका विभिन्न १६ वटा डोजाङको सहभागिता रहेको छ ।