३३ करोड बत्ती अभियानको हिसाब सार्वजनिक

चितवन, २१ माघ । विश्व जागरण महाअभियान ट्रष्टको आयोजनामा गत माघ १ देखि १५ गतेसम्म देवघाटमा सञ्चालन भएको ३३ करोड बत्ती बालौँ अभियानको हिसाब किताब सार्वजनिक गरिएको छ ।
अभियानले शुक्रबार देवघाटमा पत्रकार सम्मेलन गर्दै अभियानबाट संकलन भएको रकम र खर्च भएको रकम सार्वजनिक गरेको हो । अभियानबाट करिब तीन करोड १३ लाख १२ हजार रुपैयाँ बचत भएको अभियानका कोषाध्यक्ष लक्ष्मण भुर्तेलले बताए । ३३ करोड बत्ती बालौँ अभियानमा करिब तीन करोड ७८ लाख ५७ हजार रुपैयाँ आम्दानी भएकोमा ६५ लाख ४५ हजार रुपैयाँ खर्च भएर तीन करोड १३ लाख १२ हजार रुपैयाँ बचत हुन सफल भएको भुर्तेलले बताए । रसिद काटेका चन्दादाताहरुबाट संकलन भएको रकमबाट उक्त रकम बचत भएको र गोप्य दान र दानपेटिकाको दान गणना गर्न बाँकी नै भएकोले बचत रकम अझै बढ्न सक्ने शुक्रबारको पत्रकार सम्मेलनमा बताइएको छ ।
पत्रकार सम्मेलनमा विश्व जागरण महाअभियानका संयोजक ईश्वर कृष्णले देवघाटमा ३३ करोड बत्ती बाल्ने भनिएको भएपनि ७४ करोड बत्ती बालिएको बताए । अभियानका क्रममा शालिग्राम बेचिएको भन्ने कुरामा आफूहरुले त्यस्तो नगरेको र अभियानले नै पूजा गर्दै आएको शालिग्रामको पूजा गरिएको ईश्वरकृष्णले बताए । आफूहरुले कुनै पनि शालिग्रामको किनबेच नगरेको भन्दै चार वर्ष अगाडि शालिग्राम महोत्सव गरेको र त्यहि शालिग्राम पूजा गर्दै आएकोमा अभियानमा राखिएको ईश्वरकृष्णको भनाइ थियो ।