विद्यार्थीलाई संसदीय अभ्यासबारे जानकारी

करुणा देवकोटा
चितवन, १९ माघ । विद्यालय तहका विद्यार्थीहरुले किताबी ज्ञान बाहेक देशको राजनीतिक अभ्यास, संवैधानिक तथा संसदीय व्यवस्था आदिको बारेमा खासै चासो दिएको पाइदैन । संसदमा हुने क्रियाकपाल, बैठक, त्यहाँ प्रस्तुत हुने विधेयक आदि जनसरोकारका विषयमा समेत अधिकांश विद्यालयका विद्यार्थीहरु अनविज्ञ नै हुन्छन् ।
IMG_20170201_112132यसैलाई मध्यनजर गर्दै सरस्वती पूजाको अवसर पारी अर्किड आवासीय माद्यमिक विद्यालयमा फरक शैलीको कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीहरुलाई संसदीय क्रियाकलापबारे जानकारी गराउन विद्यार्थीहरुकै प्रयोग गरी संसदीय अभ्यास नमूना कार्यक्रम विद्यालयले सञ्चालन गरेको हो । कक्षा ७, ८ र ९ का गरी ४० जना विद्यार्थीहरुलाई सभामुख, सांसद, मर्यादापालक, शिक्षा मन्त्री आदि विभिन्न भूमिकामा प्रस्तुत गर्दै अभ्यास कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय, जनताका गुनासाहरु, देशको राजनीतिक अवस्था, आदिलाई समस्यालाई विधेयक स्वरुप विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । सत्तापक्ष र प्रतिपक्ष गरी विद्यार्थीहरुलाई विभाजन गरेर आयोजना गरिएको संसदीय नमुना अभ्यासमा शैक्षिक क्षेत्रमा देखिएको राजनीतिक समस्याको उजागर गर्दै छलफल समेत गरिएको छ । यस संसदीय अभ्यास नमुना कार्यक्रमको विद्यालयका सामाजिक विषय शिक्षक प्रेम शर्माले संयोजन गरेका हुन् ।
विद्यार्थीहरुमा संसदीय गतिविधि बारे जानकारी गराउँदै उनीहरुको क्षमता अभिवृद्धि गर्न कार्यक्रमले टेवा पुगेको शर्माको विश्वास छ । विभिन्न जाति तथा समुदायसँग आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो मातृ भाषाको प्रयोग गर्दै संसदीय अभ्यासको नमुना प्रस्तुत गरेका थिए । गुरुङ, तामाङ, मगर, मैथली आदि भाषाहरुमा आ–आफ्नो समुदायको समस्या तथा गुनासाहरुलाई उजागर गर्दै देशको अस्थिर राजनीतिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध, महिला तथा बालबालिका तथा सिमान्तकृत वर्गको समस्या आदि बारे पनि विद्यार्थीहरुले नमुना विधेयक प्रस्तुत गरेका थिए ।
संसद बैठकबारे जानकारी लिन, विधेयक पारित गरिने शैली बुझ्न यस नमुना अभ्यासले सहयोग पुगेको कार्यक्रममा शिक्षामन्त्रीको भूमिका निर्वाह गरेकी प्रकृति सापकोटाले बताइन् । सभामुखको रुपमा नमुना अभ्यासमा संलग्न मीरा सापकोटाका अनुसार विद्यार्थीहरुलाई संसदीय व्यवस्थाबारे जानकारी गराउन यस्ता कार्यक्रमहरु फलदायी हुने छन् । विद्यालयको आगामी फागुन ४ गते परेको वार्षिकोत्सवको अवसरमा पनि संसदीय अभ्यास नमुना कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक शिक्षक प्रेम शर्माले जानकारी दिए ।
यसैबीच, बुधबार नै विद्यालय परिसरमा अभिभावक खेल कार्यक्रम पनि सम्पन्न भएको छ । सो अवसरमा अभिभावकहरु बिचमा म्यूजिकल चियर र तातो आलु खेल सञ्चालन गरिएको थियो ।