क्याम्पस स्तरीय गायन प्रतियोगिता सुरु

करुणा देवकोटा
चितवन, १९ माघ । क्याम्पस स्तरीय आधुनिक गायन प्रतियोगिताको छनौट कार्यक्रम बुधबारदेखि नारायणगढको नारायणी कला मन्दिरमा सुरु भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा नारायणी कला मन्दिरको सहकार्यमा प्रतियोगिता सञ्चालन भएको हो । बुधबारदेखि सुरु भएको छनौट प्रक्रिया दुई चरणमा गरी शुक्रबारसम्म जारी रहने छ । छनौट प्रक्रियाको पहिलो चरणमा बुधबार र बिहीबार प्रतियोगितामा नाम दर्ता गराएका ४० जना प्रतियोगीहरुको अडिशन गरिदै छ ।
छनौट प्रक्रियाकै दोस्रो चरण बाट भने आगामी शुक्रवार १० जनालाई अन्तिम चरणको लागि छनौट गरिने नारायणी कला मन्दिरका उपाध्यक्ष अमर प्रधानले जानकारी दिएका छन् । छनौट प्रक्रियाको पहिलो चरणबाट १५ जना दोस्रो चरणमा प्रवेश गरेका प्रधानले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउनका लागि जिल्लामा रहेका प्लस टु तथा स्नातक तह अध्यापन गराउने कलेज तथा क्याम्पसहरुलाई पत्राचार गरिएको थियो ।
आ–आफ्नो क्याम्पसको सिफारिस सहित विद्यार्थीहरु सहभागी भएको यस प्रतियोगिताको अन्तिम चरण भने आगामी माघ २६ गते हुने प्रधानले बताएका छन् । अशिसनमा निर्णायको रुपमा संगीतकार तथा गायकहरु सहनलाल प्रधान, सुशन प्रधान र दिपक प्रधान रहेका छन् । यस क्याम्पस स्तरिय आधुनिक गायन प्रतियोगिता पहिलोपटक चितवनमा आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले २५ हजार रुपैंया, दोस्रो हुनेले १५ हजार रुपैंया, तेस्रो हुनेले १० हजार रुपैंया र चौंथो स्थान हांसिल गर्ने २ जना विद्यार्थीहरुले ५÷५ हजार रुपैंया पुरस्कार राशी प्राप्त गर्ने छन् । नेपाली गीत तथा संगीतको संरक्षण गर्दै विद्यार्थीहरुको गायन प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, संगीत विभागले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरुले नयां तथा पुराना नेपाली आधुनिक गीतहरु प्रस्तुत गरेका थिए ।