उचित मूल्य नपाएको दूग्ध किसानको गुनासो

चितवन, १९ माघ । दुग्ध उत्पादक किसानहरुले दूध उत्पादन गर्दा लाग्ने मूल्य भन्दा दूध बिक्री गर्दा पाउने मूल्य कमी भएको गुनासो गरेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले आयोजना गरेको नेपालमा पशुपालन दूध उत्पादन व्यवसायको सम्भावना, चुनौती र संरक्षण विषयक अन्तरक्रियामा किसानहरुले दूध उत्पादन गर्दा लाग्ने खर्चको अनुपातमा अनुदान दिनुपर्ने बताएको नमस्ते बिहानी पत्रिकाले प्रकाशित गरेको छ । cow milk
भरतपुरमा भएको कार्यक्रममा कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले किसानले दूध उत्पादन गर्दा ४० रुपैयाँ लाग्ने भएपनि बिक्री गर्दा मुस्किलले ३८ रुपैयाँसम्म पाउने गरेको बताए । सरकारले किसानलाई अनुदान जथाभावी बाँडेकोले अनुदान रकमलाई प्रभावकारी बनाउन दानामा अनुदान दिनुपर्ने न्यूरेको भनाइ थियो । कार्यक्रममा समाजले पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीसमक्ष मागपत्र समेत बुझाएको छ ।
सरकारी लक्ष्य अनुसार आगामी तीन वर्ष भित्र दूध र मासुमा नेपाललाई आत्मनिर्भर बनाउँदै पशुपालन, दूध उत्पादन क्षेत्रलाई व्यवसायिक बनाउँदै अबको १० वर्षभित्र युरोपियन मापदण्ड पु¥याउने लक्ष्य भएको माग पत्रमा उल्लेख गरिएको छ । सरकारले घोषणा गरेको विमा कार्यक्रमलाई अपमान गरि विमा कम्पनीहरुले एकलौटी निर्णय गरि पशु चौपायाको न्यून मूल्यांकन गर्ने, क्षतिपूर्ति दिन नचाहने गरि किसानलाई हतोत्साही बनाएको न्यूरेले बताए ।
पशुपंक्षी विकास मन्त्रालयका सचिव युवक ध्वज जिसी प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न जिल्लाका अगुवा किसानहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिसीले किसानको समस्याप्रति आफू सकारात्मक रहेको बताए । सरकारले किसानहरुलाई दिने अनुदानको विषयमा समेत छलफल भइरहेकोले किसानको हितमा नै अनुदान प्रदान गरिने जिसीको भनाइ थियो ।
कार्यक्रममा दूग्ध किसान शंकरराज राजभण्डारीले दुग्ध विकास संस्थानबाट किसानलाई ठग्ने काम भइरहेकोले यसको नियन्त्रण गर्न सरकारले कडा कदम चाल्नुपर्ने बताए । कार्यक्रममा कास्कीका किसान दिपक तिमिल्सीना, रत्ननगरका किशोर बगोलेलगायतले किसानको समस्याको बारेमा आफ्नो भनाइ राखेका थिए ।