६ महिनामा ट्राफिक कार्यालय चितवनद्वारा एक करोड ३५ लाख राजस्व सङ्कलन

केदार शर्मा

चितवन माघ १७ । सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३५ लाख ९४ हजार ४ सय राजस्व सङ्कलन गरेको छ ।tax-rate

आव २०७३/७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २१ हजार २ सय ६८ सवारीसाधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

उहाँले चालु आवमा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरमा आएको बताउनुभयो । ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएकोे, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक पन्तले जानकारी दिनुभयो ।

चालु आवको ६ महिनामा ऐन उल्लङ्घन गरेका ५ हजार ६ सय ८ ट्रक, ३ हजार ३ सय ५८बस, ४ अजार २ सय ३४ जिप/कार/भ्यान, एक हजार ६ सय १४ ट्याक्टर, चार हजार ४ सय ९८ मोटरसाइकल र एक हजार ९ सय ५६ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।