महोत्सवको २४ हजारद्वारा अवलोकन

चितवन, ०३ माघ । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको ११औँ चितवन महोत्सवमा सोमबार पनि दर्शकको अत्यधिक भीड लागेको थियो ।
सोमबार मात्रै करिब २४ हजार जना दर्शकले महोत्सव अवलोकन गरेका चितवन महोत्सव मूल व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले जानकारी दिए । सोमबार भएकोले बजारका पसलहरु बन्द हुने भएकाले समेत महोत्सवमा सोमबार दर्शकको चाप बढि भएको गौतमको भनाइ छ । महोत्सव अन्तर्गत सोमबार सांस्कृतिक कार्यक्रम, डुंगा दौड प्रतियोगिता, कार्यशाला गोष्ठी सम्पन्न भएका छन् । महोत्सवको आकर्षणको रुपमा सोमबार पनि नारायणी नदीमा डुंगा सयर तथा केराको परिकार नै रहेको थियो ।
महोत्सवमा उपस्थित भएका दर्शकहरु केराका परिकार खाँदै केराको बगैँचा सहितको डमीमा तस्बिर खिच्न व्यस्त रहेका देखिन्थे । उद्योग वाणिज्य संघ चितवन, भरतपुर उपमहानगरपालिका र जिल्ला विकास समिति चितवन आयोजक रहेको चितवन महोत्सव माघ ५ गते बुधबार समापन हुनेछ । यस पटकको महोत्सवमा पास र बाल उद्यान हटाइएको भएपनि महोत्सव अवलोकनका लागि पुग्ने दर्शकको उत्साह पहिलेको जस्तै रहेको संयोजक गौतमले बताए ।