सडक वरपरका घर टहरा भत्काएको विरोधमा हेटौंडा बन्द

हेटौंडा, माघ ३ । सडकको २५ मिटर क्षेत्रभित्र रहेका घर टहरा हटाउन डिभिजन सडक कार्यालयले गरेको आग्रहको विरोधमा हेटौंडा बसोबास संरक्षण समितिले सोमबार हेटौंडा बन्द गरेका छ।

मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको समितिले गरेको बन्दका कारण बिहानैदेखि मुख्य बजार क्षेत्रका सम्पूर्ण ब्यवसायहरु बन्द रहेका छन्।banda1_xDxCKAhVq4

डिभिजन सडक कार्यालयले गत पुस १८ गते १५ दिनको सूचना जारी गरेर सोमबारदेखि सडकको दायाँबायाँ २५ मिटर क्षेत्रको घर टहराहरु भत्काउन थालेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रेका हुन्। बजार बन्द भएपनि सवारीसाधन, उद्योग कलकारखना तथा विद्यालय बन्द नहुने समितिका संयोजक राजकुमार न्यौपानेले बताए।

सोमबार बिहान ११ बजे र्‍याली, १ बजेबाट २ बजेसम्म राजमार्ग बन्दको कार्यक्रम रहेको उनले जानकारी दिए। डिभिजन सडक कार्यालय हेटौंडाले जनतालाई सुकुम्वासी बनाउन खोजेको बसोबास संरक्षण समितिले आरोप लगाएको छ। हेटौंडाका करिब दुई हजार घरमा रहेको ५ हजार ब्यवसायीहरुलाई विस्थापित गर्ने तथा हजारौ नागरिकलाई सुकुम्वासी बनाउने गरी सडक डिभिजनले काम गर्न लागेको समिति संयोजक न्यौपानेले बताए।