६० जनाद्वारा रक्तदान

चितवन, १ माघ । चितवन महोत्सवको परिसर भित्र आयोजना गरिएको रक्तदान कार्यक्रममा नौ जना महिला सहित ६० जनाले रक्तदान गरेका छन् ।
रोटरी क्लब अफ नारायणी मिडटाउन, द आर्ट अफ लिभिङ र रोट्याक्ट क्लब अफप नारायणी मिड टाउनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । प्रत्येक पटक आयोजना हुने चितवन महोत्सवमा रोटरी क्लबले रक्तदान कार्यक्रम गर्दै आएकोले सोही कार्यक्रमलाई निरन्तरता दिइएको रोटरी क्लब अफm नारायणी मिड टाउनकी अध्यक्ष छाया श्रेष्ठले जानकारी दिइन् । महोत्सव परिसरमा आएका व्यक्तिहरुलाई समाहित गरेर रक्तदान कार्यक्रमको आयोजना गर्दा महोत्सवमा उपस्थित भएका दर्शकहरुलाई रक्तदान गर्नुपर्छ भन्ने चेतनाको वृद्धि हुने भएकोले समेत रक्तदान कार्यक्रम गरिएको श्रेष्ठले बताइन् ।
क्लबले समाजिक सेवाका विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा प्रत्येक महोत्सवमा सहयोगी संस्था खोजेर रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ । रक्तदान कार्यक्रमको संयोजक यमनाथ शर्माले महोत्सव स्थलमै भएपनि रक्तदान कार्यक्रम गर्दा थोरै भएपनि रगतको पूर्ति बढ्ने बताए । कार्यक्रमका प्रमुख अतिथि द आर्ट अफ लिभिङका पवन नेपाल रहेका थिए ।