नारायणी नगरपालिकाको वजेट १७ करोड ३१ लाख बढी

चितवन, पुस २८ । नारायणी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि १७ करोड ३१ लाख ६५ हजार सात सय ६१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको देवीस्थानमा बिहीबार आयोजना गरिएको पाँचौँ नगर परिषद् एवम् वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्दै नगरपालिकाको कार्यकारी अधिकृत रमेश सुवेदीले नगरपालिकाको आन्तरिक आम्दानी र अनुदान गरि १७ करोड रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।

नगरपालिका अनुदान चार करोड ६२ लाख, आन्तरिक स्रोतबाट एक करोड ६१ लाख ९६ हजार, मालपोत रजिष्ट्रेसनबाट ४२ लाख ८६ हजार, कार्यालय भवन निर्माणको लागि दुई करोड, सामाजिक सुरक्षा भत्ता वापत सात करोड रुपैयाँ नगरपालिकाले प्राप्त गर्ने सुवेदीले बताए ।

वातावरणमैत्री उन्मुख नगरपालिकाको रुपमा रहेको नारायणी नगरपालिकाले वन, वातावरण तथा जलवायु, स्वास्थ्य खानेपानी तथा सरसफाई, शिक्षा, विपद् व्यवस्थापन, पर्यटन विकास प्रवद्र्धनका कार्यक्रमहरुमा लागू गर्ने सुवेदीले जनाएका छन् ।

नगर परिषद्का क्रममा नारायणी नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय बासीको मागलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर ५ का सांसद एवम् भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी नगरपालिका वडा नम्बर १०, ११ र १२ की संयुक्त वडा सचिव लक्ष्मीदेवी शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।

नयाँ भवन शिलान्यास

देवीस्थान, २८ पुस । नगरपालिकाले निर्माण गर्ने तयारी गरेको नयाँ भवनको शिलान्यास समेत गरिएको छ ।

भूमि सुधार तथा व्यवस्था मन्त्री पाण्डेले भवन शिलान्यास गर्दै नगरपालिकाले जनताको चाहना अनुसार काम गर्नुपर्ने बताए । फराकिलो ठाउँमा भवन निर्माण पछि कार्यालयीय काम काजमा सहजता अउने मन्त्री पाण्डेको बुझाई छ ।

वातावरणमैत्री, बालमैत्री तथा अपांगमैत्री हुने गरि निर्माण गर्न लागिएको नयाँ भवन तीन तलाको रहने नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेले बताए ।

भवनको भुई तला निर्माण गर्न एक करोड ५० लाख, पहिलो तला निर्माण गर्न एक करोड ३० लाख तथा दोस्रो तला निर्माण गर्न ९५ लाख ३० हजार रुपैयाँ गरि तीन करोड ७६ लाख ५३ हजार रुपैयाँमा निर्माण सम्पन्न हुने पाण्डेले जानकारी दिए । चार सय ४४ वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी क्षमताको हुनुको साथै भवन डबल वायरिङ सिस्टममा निर्माण हुने बताइएको छ ।