खिचरा महोत्सवको सम्पूर्ण तयारी पुरा

कारी महतो
चितवन, २८ पुस । पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सव २०७३ को तयारी लगभग पुरा भएको छ । पूर्व अर्थमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भई समुदघाटन गर्ने आयोजक समितिले जनाएका छन् । भोलि २८ गतेका दिन बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा शुरु भई महोत्सव स्थलसम्म पुग्ने जनाइएको छ । शोभायात्रामा आउने सहभागीका लागि टिकट नलाग्ने आयोजकले जनाएका छन् ।
महोत्सवको प्रवेश टिकट शुल्क रु ४० र विद्यार्थीका लागि रु २० कायम गरिएको छ भने गेट पासको व्यवस्था पूर्ण रुपमा निशेष गरिएको छ । मूल आयोजक समितिमा रहनेहरुले समेत टिकट काट्नु पर्ने आयोजक समितिले जनाएको छ ।
महोत्सवमा थारु परिकारहरु जस्तै चिचर, घोङ्घी, माछा, हाँसको मासु, नकगर रोटी लगायतको परिकारका स्टलहरु रहनुका साथै थारु समुदायका लोपोन्मुख सामग्रीहरु, कृषि परिसर र बाल उद्यान मुख्य आकर्षण रहने जनाइएको छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय गायक कलाकार र थारु लगायत जातजातिका साँस्कृतिक नृत्य प्रस्तुत गरिने छ ।
महोत्सवको सुरक्षाको लागि खैरहनी इलाका प्रहरी कार्यालयले पुलिस हेल्प डेस्क सञ्चालन गर्ने कुरा इन्स्पेक्टर घजिन्द्र बहादुर कार्कीले जनाउनु भयो । त्यसका साथै आयोजकले आन्तरिक सुरक्षाको पनि व्यवस्था गरेको छ ।