क्यान्सर अस्पतालको सेवा, डाक्टरले बाहिर काम गर्दा खस्कियो

चितवन, २० पुस । क्यान्सर अस्पताल प्रशासनले नियममा आएको खुकुलोपनसँगै अस्पतालमा बेथिती बढेको स्विकार गरेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सञ्चालक समिति अध्यक्ष र कार्यकारी निर्देशक मंगलबार साँझ पत्रकार माझ अस्पतालका विषयमा बोलेका हुन् । अस्पतालले आफ्नो सेवा सक्दो रुपमा दिँदै आए पनि नकारात्मक प्रचार धेरै हुने गरेको गुनासो पत्रकारहरुलाई राख्न उनीहरुले छुटाएनन् ।
एक लाखभन्दा धेरै बिरामीहरु आउने गरेको अस्पतालमा गुनासाहरु पनि बढी नै हुने उनीहरुले बताए । ‘यहाँका चिकित्सकहरुका सम्बन्धमा सुरूवाती नियम केही कडा पनि थिए । पछिल्लो समय खुकुलो भए । त्यसले पनि सेवाग्राहीलाई सन्तुष्ट पार्न सकेन कि’ बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।चीनबहादुर पुनले भने ।dr-pun-and-neupane-1-800x445
अस्पतालमा २४ सै घण्टा सेवा दिने गरेर सबै चिकित्सक कर्मचारीलाई आवासीय सुविधा पनि उपलब्ध छ । सुरूमा सो अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई बाहिरका अस्पतालमा काम गर्न बन्देज थियो । ‘नियमावलीले त अझै पनि बाहिर काम गर्न जान रोकेको छ । तर, विसं २०६१ सालमा सञ्चालक समितिले निर्णय गरेर काम गर्न जान स्वीकृति दियो’ कार्यकारी निर्देशक डा।पुनले भने ।
कार्यालय समयभन्दा बाहेक स्वीकृति लिएर अन्य अस्पतालमा सेवा दिन जाने चिकित्सकहरुले अस्पतालले दिने गरेको प्रोत्साहन भत्ता आधा मात्रै कटौती हुन्छ । एकजना वरिष्ठ चिकित्सकले १९÷२० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता पाउछ । बाहिर गएर काम गर्दा त्योभन्दा कयौं गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता गुमाउन जो पनि तयार हुने भए । ‘यो अस्पतालका चिकित्सक बाहिर गएर यहाँ बिरामी आउन मद्दत पुग्छ भन्ने उद्देश्यले त्यो बेला सञ्चालक समितिले त्यस्तो निर्णय गरेको थियो । तर, भयो उल्टो । मेरो विचारमा बाहिर काम गर्न पाउने सुविधा गलत हो । अस्पतालमा अहिले देखिएका धेरै समस्याको जड नै त्यही हो भन्ने मलाई लाग्छ’ कार्यकारी निर्देशक डा।पुनले भने ।
अस्पतालमा ५२ जना चिकित्सक कार्यरत छन् । रेडिएसन अंकोलोजी विभाग बाहेक सबै विभागका चिकित्सक प्राविधिकहरु अहिले बाहिर पनि काम गर्न जाने कार्यकारी निर्देशक डा।पुनले जानकारी दिए । सुरू सुरूमा बाहिर गएर काम गर्दा कमाइ नभएका कारण धेरैले छाडेका थिए । तर, पछिल्लो समय यसैबाट मनग्य आम्दानी हुन थालेपछि उतै ध्यान दिन थालेको उनले बताए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा।प्रकाशराज न्यौपानेले एकजना अध्यक्ष र कार्यकारी निर्देशकको हातमा भन्दा धेरै कुरा सञ्चालक समितिमा निर्भर रहेका कारण छरितो रुपमा काम हुन समस्या भएको स्वीकार गरे । सञ्चालक समिति पूर्ण नहुँदा गत वर्षको चैतदेखि बैठक नै नबसेको उनले बताए । बिना बैठक नीति निर्णय गरेर अगाडि बढ्न गाह्रो भएको उनको अनुभव छ ।
‘सञ्चालक समितिको बैठक दुई महिनामा एक पटक बस्ने नियम छ । गत वर्ष म असोजमा अध्यक्ष नियुक्त भएपछि चैतसम्म पाँचवटा बैठक डाकेँ । आठजना भए कोरम पुग्छ । दुईवटा बैठकमा त कोरम पनि पुगेन । तीनवटा बैठकमा ठिक्क आठजना जुटेर बैठक बस्यौं’ अध्यक्ष न्यौपानेले भने । त्यसैले समस्या अध्यक्ष वा कार्यकारी निर्देशकले मात्रै नबढाएको उनले प्रष्ट्याए ।
समस्यका बीचमा पनि सेवा जारी राखेका कारण आफूहरुले गलत केही नगरेको उनीहरुको भनाइ छ । अस्पताल स्थापना हुँदा सात हजार ९०० जना ओपीडीमा आएका थिए । पछिल्लो समय एक लाख १३ हजार ७३९ जना आएको डा।पुनले बताए ।
बिरामीको चाप अत्याधिक बढे पनि चिकित्सक कर्मचारी र बजेट उस्तै भएका कारण सेवा लिन आउनेले पूर्ण सन्तुष्टि प्राप्त गर्न नसकेको उनीहरुले बताए । स्वर्गीय बीपी कोइरलाको नाममा चीन सरकराले १६ वर्षअघि सो अस्पताल निर्माण गरेको हो । अस्पतालले ६१ बिघा जग्गा चर्चेको छ । देशभरका बिरामी उपचारका लागि आउने गरे पनि सेवा र चिकित्सकको व्यवहारको सम्बन्धमा अत्याधिक गुनासो आउने गरेको छ ।