चितवन महोत्सवको तयारी तीव्र

आनन्द पोखरेल
चितवन, १९ पुस । चितवन महोत्सवको ११ औँ संस्करणमा आइपुग्दा बाल उद्यान नराखिने भएको छ । बाल उद्यानको विषयमा बिबाद सिर्जना भएपछि आयोजक उद्योग वाणिज्य संघ चितवनले बाल उद्यान नराख्ने भएको हो ।
पुस २५ देखि आयोजना हुन लागेको ११औँ चितवन महोत्सवकाको बारेमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस वर्ष बाल उद्यान हटाएर केरालाई विशेष आकर्षणको रुपमा प्रदर्शन गर्न लागिएको जनाइएको छ । केरा खेतिमा चितवन हब बन्दै गएको र उद्योग वाणिज्य संघ चितवनले समेत एक गाउँ एक उत्पादनमा केरालाई समाहित गरेका कारण महोत्सवको विशेष आकर्षणको रुपमा केराको परिकारहरु रहने मूल संयोजक राजन गौतमलले बताए । चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक दुई वर्षमा चितवन महोत्सव आयोजना हुँदै आएको छ ।
नारायगढको नारायणी नदी किनारमा माघ २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, व्यापारिक, प्रतियोगितात्मक गरि छ वटा विशेष स्टल सहित विभिन्न चार सय ७५ वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने महोत्सवमा बिहान विभिन्न संघसंस्था, विद्यालय, जनजातिहरुको विशेष झाँकी सहित शोभायात्रा निकालिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा विभिन्न चार वटा विषयमा गोष्ठी समेत गरिने भएको छ भने महोत्सवमा राखिएका स्टलहरुको पाँच करोड रुपैयाँ बराबरको बिमा गरिएको गौतमले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न सात सय सदस्यीय मूल समिति, ३२ सदस्यीय स्टेरिङ समिति, ४७ सदस्यीय सल्लाहकार समिति निर्माण गरि महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । पाँच लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिब २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । चितवनको गौरब र गरिमाको रुपमा लिइएको महोत्सव प्रवेशको लागि दुई वटा मूल्यका टिकटको व्यवस्था गरिएको छ ।
साधारण टिकटको ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतको टिकटको मूल्य २५ रुपैयाँ तोकिएको तथा महोत्सव प्रवेशको लागि कसैलाई पनि गेट पासको व्यवस्था नगरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दियो ।