सुरु भएको २१ महिनामा ३४ प्रतिशत मात्रै काम

आनन्द पोखरेल
मुग्लिङ, १९ पुस । सडक आयोजना सुधारको काम सुरु भएको २१ महिना बितिसक्दा समेत नारायणगढ मुग्लिङ सडक खण्ड निर्माणको काम आधा समेत सम्पन्न भएको छैन । ठेक्का सम्झौता अनुसार आगामी अप्रिल २०१७ सम्म उक्त सडक आयोजनाको काम सम्पन्न गरिसक्नुपर्ने थियो । निर्माण सम्झौता भए लगत्तै नेपालमा आएको विनाशकारी भूकम्प र नाकाबन्दीलाई आधार बनाउँदै काममा ढिलाई भएको भनेर निर्माण पक्षले पटक पटक निर्माण सम्पन्न गर्ने म्याद थपको लागि सरकारलाई आग्रह गरिरहेका छन् ।

22सरकारले निर्माण सक्नुपर्ने समय चार महिना थप्दै अगष्ट २०१७ सम्म मुग्लिङ नारायणगढ सडक सुधारको काम सम्पन्न गर्न लक्ष्य दिएको भएपनि निर्माण कम्पनीहरुले अप्रिल २०१८ सम्म म्याद थप्नुपर्ने माग गरिरहेका छन् । नारायणगढ मुग्लिङ सडक विस्तारको काम समयमा नै पुरा नहुने देखिएपछि दैनिक आठ घण्टा यातायात अवरुद्ध गरेर बाटो निर्माण गर्नुपर्ने बताइएको छ । निर्माण सुरु भएको २१ महिनामा ३४ प्रतिशत मात्र काम सकिएको उक्त सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर चन्द्रनारायण यादबले बताए । बाटो फराकिलो बनाउने कामको लागि उक्त सडक खण्डको चार ठाउँमा पहाड काट्नुपर्ने भएकोले काम केही ढिला जस्तै भएको यादबको भनाइ छ ।
उक्त सडक निर्माणको लागि भन्दै हाल दैनिक चार घण्टा सडक अवरुद्ध हुँदै आएकोमा पुस १८ गतेदेखि साढे चार घण्टा सडक अवरुद्ध गरेर निर्माण कार्य अगाडि बढाउन चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्देशन दिएका छन् । बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म उक्त ठाउँमा एम्बुलेन्स बाहेकका सवारी साधनलाई पूर्ण रुपमा निषेध गरेर सडक विस्तार गर्न भट्टले निर्देशन दिएका हुन् । यो समयमा नेपाल सरकारका उच्च विशिष्ठ ओहदाका व्यक्तिहरुलाई समेत मुग्लिङ नारायणगढ सडक खण्डको बाटो प्रयोग नगर्न भट्टले आग्रह गरे ।
मुग्लिङ नारायणगढ सडक हुँदै सञ्चालनमा आउने ठूला गाडी र कन्टेनरहरु पुस १९ गतेदेखि नै लागू हुने गरि रातिको समयमा मात्र सञ्चालन गराउन प्रमुख जिल्ला अधिकारी भट्टले निर्देशन दिएका छन् । यस्ता सवारी साधनहरुलाई रातिको १२ बजेदेखि बिहान चार बजेसम्म मात्र उक्त सडक प्रयोग गर्न दिइने अन्यथा सडकमा नै रोकेर राख्नको लागि समेत भट्टले आग्रह गरेका छन् । त्यसैगरी, दिउँसो सवारी साधन रोक्दा दासढुंगामा मोटरसाइकल, जुगेडीमा यात्रु बस र रामनगरमा ट्रक रोक्नुपर्ने समेत भट्टको भनाइ थियो ।
11त्यस्तै मुग्लिङ तर्फ रोकिने सवारी साधनमा समेत मुग्लिङ बजारबाट नारायणगढ तर्फ मोटरसाइकल, त्यसपछि यात्रु बस र अन्तिम लाइनमा ट्रकहरु रोकेर राख्नुपर्ने भएको छ । यसरी सवारी साधनहरु रोकिदा जाम खुल्ने बित्तिकै सवारी साधनको चाप धेरै नबढ्ने भएकाले बाटो जाम हुने सम्भावना न्यून हुने भट्टको भनाइ थियो । हलुका सवारी साधन भएकोले मोटरसाइलक अगाडि कटिहाल्ने त्यसपछि बस कट्ने र ट्रक पछाडि हुने भएकाले सडकमा सवारीको भार कम हुने भट्टले बताए ।
सडक विस्तारका क्रममा यात्रुहरुलाई मर्का नपरोस् भनेर सवारी चालकहरुलाई बैकल्पिक बाटो अपनाउन आग्रह गरिएको चितवनका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । पूर्वबाट राजधानी जाने र राजधानीबाट पूर्व जाने सवारी साधनलाई सिन्धुली बर्दिबास, हेटौँडा नौबिसे सडक प्रयोग गर्न तथा पश्चिमबाट राजधानी जाने र राजधानीबाट पश्चिम जाने बसलाई पोखरा–स्याङ्जा–बुटवलको बैकल्पिक सडक प्रयोग गर्न निर्देशन दिएको पन्तको भनाइ छ । वैकल्पिक सडक भएर कति सवारी साधनहरु हिँडे भनेर तथ्यांक संकलन नगरिएको भएपनि मुग्लिङ नारायणगढ सडकको विकल्पमा सवारी साधनहरु गुडेका पन्तले बताए ।

विश्व बैंककाे करिब तीन अर्ब रूपैयाँको लागतमा यस सडक खण्ड निर्माण हुन लागेको हो । सडक धेरै साँघुरो भएकोले पुरै सडक बन्द गरेर काम गर्नुपरेको आयोजना निर्माणकर्ताहरुको भनाइ छ । सडक सुधारसँगै आँपटारीदेखि मुग्लिङसम्मको सडक फराकिलो हुनेछ । उक्त सडक खण्डमा सडकको चौडाई नौ मिटरदेखि ११ मिटरसम्मको हुने बताइएको छ भने अनावश्यक घुम्ती र उकालो पनि हटाइनेछ ।
मुग्लिङ नारायणगढ सडक विस्तारको काम हेर्दा अहिलेको अवस्थामा काम सम्पन्न हुन अझै दुई वर्ष भन्दा बढी लाग्ने देखिएको छ । सडक विस्तारको लागि भन्दै घुमाउने सहितका केही पहाडहरुको नाम समेत नरहने गरि हटाइदै छन् । अहिले पहाड फोर्दा वर्षायाममा पहिरो जाने खतरा समेत रहने भएकोले यसको सुरक्षाको लागि सावधानी अपनाउँदै उक्त सडक सहज रुपमा पार गर्ने वातावरण बनाउनु जरुरी छ ।