देवघाटमा फोहोर व्यवस्थापन नहुदा प्रदुषित

चितवन, १९ पुष । देवघाटधामको चितवन तर्फको भूभागमा फोहोरका डंगुर थुप्रिएपछि सो क्षेत्रमा दुर्घन्ध फैलिएको छ ।

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै वेणी संगम स्थलमा सरसफाई गरिएको भएपनि चितवन तर्फ त्रिशुली नदीको किनारमा भने फोहोर जस्ताको त्यस्तै छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरीहरुद्वारा बिहीबार सरसफाइ गराउने भन्दै वेणी संगमस्थलमा ढुंगाहरु ओसार्न लगाइएको थियो ।

देवघाट क्षेत्रमा स्नानको लागि मूलद्वार मानिने चितवन तर्फको भागमा भने विभिन्न खालका प्लाष्टिक, पानीका बोतल लगायतका सामग्रीले देवघाट क्षेत्रको स्वरुप नै कुरुप बनाएको देख्न सकिन्छ ।devcgat-fohar

चितवन तर्फको भागमा नदी किनारमा पुजा गरेर फालिएका फोहोरहरुको व्यवस्थापन हुन सकेको छैन । क्षेत्र विकास समितिले देवघाट क्षेत्रमा सरसफाई गर्दै आएको जनाए पनि प्रहरीहरु लगाएर वेणीको ढुंगा थुपार्न लगाउने गरेको स्थानीय बताउँछन् ।

वेणी संगममा फोहोर सफा गरिने गरेको तर चितवन तर्फको भागमा जस्तो सुकै फोहोर भएपनि क्षेत्र विकास समितिले सफा गर्ने चासो नदेखाएको देवघाट क्षेत्रमा र्याफ्टिङ पेशा गर्दै आएका रामचन्द्र न्यौपानेले गुनासो गर्नुभयोे ।

तीर्थ स्नान गर्न आउने, घुम्न आउने पर्यटकहरुले ल्याएका पानीका बोत्तल, प्लाष्टिकका गिलास, अन्य प्लाष्टिक, टपरीहरु नदीका किनारमा यसै फाल्दा फोहोर देखिएको न्यौपानेको भनाइ छ ।