लैंगिकताका मुद्दाहरू अझै पनि ओझेलमा

करुणा देवकोटा
चितवन, १३ पुस । लैंगिकताको मुद्दाहरु सञ्चार क्षेत्रमा अझै पनि उजागर गर्न नसक्दा धेरै विषयहरु ओझेलमा परिरहेका छन् । समाजिक मुल्य मान्यता, रहनसहन, शिक्षण पद्धती, पुरातनवादी सोच आदिका कारणले महिला र पुरुष बिचको समानतामा धेरै अन्तर समेत रहेको छ ।
पितृसत्तात्मक मानसिकता र व्यवहारले गर्दा समाजमा छोरा र छोरी बिचको विभेद अन्त्य गर्नु पनि चुनौतीको रुपमा रहेको छ । यस्ता विषयहरु उजागर नहुंदा लैंगिक विभेदले प्रश्रय पाइरहेको बुधवार देखी भरतपुरमा सञ्चालित मध्यमाञ्चल क्षेत्रका पत्रकार महिलाको लागि आयोजित लैंगिक तालिममा छलफल गरिएको छ । अष्ट्रेलियन एडको सहयोगमा सञ्चारिका समूह नेपालले तालिमको आयोजना गरेको हो ।
प्राकृतिक र सामाजिक लैंगिक अवस्थाका भिन्नता बारे घर परिवार र समाजले बुझ्न नसक्दा विभिन्न पेशा व्यवसायमा संलग्न महिलाहरु पनि नेतृत्वदायी स्थानसम्म आउन सकेका छैनन् । परिवर्तन गर्न सकिने लैंगिक विभेदलाई पनि प्राकृतिक सोचबाट मुल्यांकन गर्ने कमजोर परिपाटीले महिलाका मुद्धा, समस्या, उनिहरुले गरेको संघर्षलाई अन्त्य गर्न सकिएको छैन । तालिममा सहजिकरण गर्दै सञ्चारिका समूह नेपालकी केन्द्रिय सदस्य जया लुइंटेलले छोरीलाई जन्मबाट नै अरुमा आश्रीत हुन सिकाउने प्रवृतिले पनि छोरा र छोरी बिचको लैंगिक विभेदले बढुवा पाएको औंल्याएकी छन् ।
छोरा र छोरी बिचमा परिवारमा नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभेद हुंदा सामान्य मान्ने कारण पनि समानता मुलक समाज निर्माणमा बाधक बनेको लुईंटेलको भनाई छ । तालिममा प्रस्तुत गरिएका विभिन्न तथ्यांकका आधारमा पनि सञ्चार क्षेत्रमा महिलाको सहभागिता न्यून भएका कारण महिलासंग जोडिएका समस्याहरु, महिलाले गरेका उपलब्धीहरु समाजमा धेरै लुकेर रहेका छन् । सञ्चारिका समूह नेपालकी अध्यक्ष निर्मला शर्माका अनुसार समाजमा व्याप्त पितृसत्तामक सोचका कारण हाम्रा सांस्कृतिक रहनसहन, सोचाई, रितिरिवाज आदि सबैमा महिला पिडित हुनु परिरहेको छ ।
महिला र पुरुषले समान काम गर्दा समान पारिश्रमिक नहुनु, नेतृत्वदायी स्थानमा महिला पु¥याउन घर परिवारबाट हुने असहयोग, छोरी भएर जन्मेकै कारण सहनुपर्ने अवहेलना, आदिले महिलालाई पछाडी पारिरहेको शर्माले बताएकी छन् । ३ दिने तालिमको बुधवार उद्धघाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सञ्चार माध्यमले खोजमुलक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
लैंगिकताका विषयलाई जिल्ला प्रहरी कार्यालय चितवनले प्राथमिकतामा राख्दै कार्यालयका महिला सेलमा महिला प्रहरी निरिक्षकलाई नियुक्ति गर्न लागिएको प्रहरी उपरिक्ष दिपक थापाको भनाई छ । महिला पत्रकारहरु पत्रकारिता पेशामा दिगो रुपमा नरहने हुंदा पनि लैंगिकताको विषयमा खोजमुलक पत्रकारिता हुन नसकेको स्विकार गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरि प्रसाद पोखरेलले महिला पत्रकारको दक्षता अभिवृद्धिमा महासंघ लागि परेको जानकारी गराएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा सञ्चार माध्यममा रहेको लैंगिक विभेद, सञ्चार माध्यमले प्रकाशन तथा प्रशारण गर्ने विषयवस्तुमा महिलाको सहभागिता, लैंगिकताको अधारमा गरिने हिंसा, आदिको विषयमा छलफल तथा अन्तरक्रिया हुंदै छन् । तालिममा मध्यमान्चल क्षेत्रका बारा, पर्सा र चितवनका गरी १२ जना पत्रकार महिलाको सहभागिता रहेको छ ।