पुस १३ देखी भरतपुरमा इक्यान शैक्षिक मेला

चितवन, ११ पुस । शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनको आयोजनामा यही पुस १३ देखी १५ गतेसम्म भरतपुरमा ‘इक्यान शैक्षिक मेला–२०७३’ हुने भएको छ । मेला स्थल वीरेन्द्र बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
‘इच्छा अनुसारको शिक्षा, हामी सबैको अपेक्षा, चाहे स्वदेशमा होस् या विदेशमा’ भन्ने मुल नाराका साथ हुन लागेको मेलाको पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधारले समुद्घाटन गर्ने इक्यान चितवनका अध्यक्ष जीवन रिजालले जानकारी दिए । मेलाको उद्घाटन शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ गर्ने उनले बताए ।Print

मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुगरि ९६ वटा स्टल र ८ वटा पेभेलियन रहने मेला संयोजक एवंम् इक्यान चितवनका उपाध्यक्ष भानुभक्त खरेलले जानकारी दिए ।
उनले मेलामा विदेशी तथा स्वदेशी शैक्षिक संस्थाहरुबीच सेमीनार चल्ने जानकारी दिए ।
साथै विद्यार्थी तथा अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयहरुको प्रतिनिधिहरुसंग प्रत्यक्ष परामर्श लिन सकिने बताए । निःशुल्क व्यवस्था गरिएको मेलामा स्थलमा स्टल निर्माणको काम धमाधम भईरहेको छ ।
मेला संचालन गर्न करिव २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ भने २० हजार भन्दा बढि विद्यार्थीहरुको अवलोकन गर्ने अपेक्षा गरिएको छ । इक्यानका सचिव हिम्मत पुरीले संचालन गरेको कार्यक्रम अध्यक्ष जीवन रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।