अहिलेसम्म कै उच्च मूल्यमा अण्डा

चितवन,पुस १० . कुखुराको अण्डाको मूल्य हालसम्म कै उच्च भएको छ । किसानले एक क्रेट अण्डाको मूल्य ३५० रूपैयाँसम्म पाउने अवस्था आएको छ । व्यवसायीहरुको अनुसार उपभोक्ताले एउटा अण्डा १५ रूपैयाँमा पाउने छन् । उपभोक्ताले भने यो मूल्य यसअघि नै तिर्ने गरेका थिए ।

नेपाल अण्डा उत्पादक संघले शुक्रबार जारी गरेको सूचना अनुसार चितवनलाई आधार मानेर ठूलो अण्डाको फार्म मूल्य अर्थात किसानले पाउने मूल्य प्रतिक्रेट ३५५ रूपैयाँ तोकिएको छ । जसको बिक्री मूल्य ३६५ रूपैयाँ हुनेछ । मझौला अण्डाको फार्म मूल्य ३४० र बिक्री मूल्य ३५० रूपैयाँ कायम गरेको संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।egg-ko
एक क्रेटमा ३० वटा अण्डा हुन्छन् । उपभोक्ताले एउटा अण्डाको मूल्य १५ रूपैयाँ तिर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ । एउटा अण्डा उत्पादन गर्दा किसानको १० रूपैयाँसम्म खर्च हुने गरेको छ । एक क्रेट अण्डाको लागत मूल्य ३०० रूपैयाँ हुने अध्यक्ष केसीले बताए । तोकेकै मूल्यमा किनबेच चलेमा किसानले एक क्रेटमा ५५ रूपैयाँसम्म फाइदा लिन सक्ने अवस्था अहिले सिर्जना भएको छ ।

‘अण्डाको माग बढेको छ तर, उत्पादन धेरै बढ्न सकेको अवस्था छैन । त्यसैले मूल्यमा सुधार आएको हो’ अध्यक्ष केसीले भने । चितवनमा कायम भएको मूल्यमा अन्यत्र बिक्री मूल्यमा क्रेटमा १५ रूपैयाँसम्म फरक पर्न सक्ने केसीले जानकारी दिए । चितवनभन्दा टाढा रहेका अन्य क्षेत्रमा बढीमा प्रति क्रेट ३८० रूपैयाँसम्म अण्डा बिक्री हुने सम्भावना रहेको उनले बताए ।

‘यो मूल्य अहिलेसम्म कै उच्च हो । यसअघि दुई वर्ष अगाडि अण्डाको मूल्य प्रतिक्रेट ३२० रूपैयाँसम्म पुगेको थियो’ नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले भने । भूकम्पलगायतका कारणले अण्डाको मूल्य ओरालो लागेको थियो । भूकम्पपछिको महिनामा एक क्रेट अण्डाको फार्म मूल्य २५० रूपैयाँ पुगको थियो । त्यो बेलामा किसानले तोकेको मूल्यभन्दा कममा पनि अण्डा बेच्न बाध्य थिए ।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिबाट प्राप्त जानकारी अनुसार हाल नेपालमा दैनिक २१ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । विसं २०७२ साल वैशाखको भूकम्पभन्दा पहिलेको समयमा दिनमा २४ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको थियो । भूकम्पपछि सुरू भएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बेला उत्पन्न भएको इन्धन संकटले यो व्यवसाय नराम्ररी प्रभावित भएको थियो ।

भूकम्पपछि विस्तारै उठ्दै गरेको अण्डा उत्पादन व्यवसाय क्षेत्र अझै पुरानो अवस्थामा पुग्न नसकेको अध्यक्ष केसीले बताए । नेपालभर अण्डाका लागि पालिने लेयर्स कुखुराका १६ हजार फार्महरु रहेको उनले बताए । लेयर्स कुखुरा ठूलो परिमाणमा पाल्ने चलन छ । चल्ला राखेपछि अण्डा दिन पनि केही समय लाग्छ । देशभर उत्पादन हुनेमध्ये लगभग ६० प्रतिशत अण्डा चितवनकै फार्ममा उत्पादन हुने संघले जानकारी दिएको छ ।