गणित शिक्षकको राष्ट्रिय सम्मेलन चितवनमा हुने

राजन खरेल
गैंडाकोट, ७ पुस । नेपाल भरीका क्याम्पसहरुमा गणित विषय पढाउने शिक्षकहरुको भेला चितवनमा हुने भएको छ । आगामी पुसको २७ देखि २९ गतेसम्म भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा भेला आयोजना गरिने आयोजकले बताएको छ ।
नेपाल गणित समाजको आयोजनामा हुने सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयले सहकार्य गरेका छन् । चितजनमा तीन दिनसम्म आयोजना गरिने सम्मेलनको नाम ‘नेशनल कन्फरेन्स अन म्याथम्याटिक्स एन्ड इट्स एप्लिकेशन्स’ दिइएको छ । वीरेन्द्र क्याम्पसमा आयोजना हुने सम्मेलनमा सय जना भन्दा बढी प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
सम्मेलनमा नेपालभरीबाट एक सय ५० जना भन्दा बढी गणित शिक्षकहरुको सहभागिता रहने बताइएको छ । उक्त सम्मेलनले नेपालमा गणित विषय अध्ययन–अध्यापन तथा अनुसन्धान कार्यलाई सहयोग पुग्ने बताइएको छ ।