महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेला भरतपुरमा

चितवन, पुस ०७ । नयाँ शक्ति नेपाल सम्बद्ध महिला संगठन महिला शक्ति नेपालले आफ्नो प्रथम राष्ट्रिय भेला यहि पुष ८ र ९ गते भरतपुरमा हुने भएको छ । महिला शक्ति नेपालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिएको हो ।

प्रथम राष्ट्रिय भेला भरतपुरको शरदपुरमा गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सहभागितामुलक लोकतन्त्र र समुन्नत समाजबादको बैकल्पिक विचार धाराको रुपमा महिला शक्ति नेपालको स्थापना गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । महिला शक्ति नेपाल पार्टीगत अधिनमा नरही स्वायत्त ढंगले परिचालन हुने महिला शक्ति नेपालकी संयोजक कल्पना धमलाले जानकारी दिइन् ।

साथै उक्त राष्ट्रिय भेलामा विभिन्न पेशा व्यवसायमा रहेका महिलाहरुलाई एकताबद्ध गर्न महिला महासंघको निर्माण गरिने समेत उनले जानकारी दिइन् । महिलालाई आत्मनिर्भर बनाई नेतृत्वदायी स्थानसम्म पु¥याउनका लागि अवसर र बातावरणको सिर्जना गर्न समेत संगठन लागि पर्नेमा धमलाले जोड दिइन् ।

महिला हिंसाका सम्बन्धमा भएका विविध घटनाहरुको विरुद्धमा संगठनले कदम चलाउदै आएको महिला शक्ति नेपालकी नेतृ मनु हुमागाईले बताइन् । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले उद्घाटन गर्ने राष्ट्रिय भेलामा देशका ७५ वटै जिल्लाबाट पाँच सय जना प्रतिनिधि सहभागी रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भेलाले राष्ट्रिय महाधिवेशन गर्नको लागि राष्ट्रिय सम्मेलन समिति गठन गर्ने जनाइएको छ ।