महायज्ञमा अष्टधातु आउने क्रम सुरु

चितवन, ०५ पुस । अष्टधातु संकलनका लागि पुर्वि चितवनको रत्ननगरमा आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल एवं अष्टधातु संकलन ज्ञान महायज्ञमा मंगलबार भक्तजनहरुको भीड लागेको छ । रत्ननगर १ भक्तिनीबगैचामा जारी महायज्ञमा भक्तजनहरुबाट सहयोग समेत आउने क्रम सुरु भएको छ । मंगलबार प्रवचनको पहिलो दिन १० केजी धातु र १७ हजार नगद संकलन भएको महायज्ञ मुल समारोह समितिका सचिव मदनराज मिश्रले जानकारी दिए । सोमबार उदघाटनको दिन पनि धातु तथा नगद सहयोग प्राप्त भइसकेको उनले बताए । आजैबाट पण्डित अच्युतकृष्ण अधिकारीले संगीतमय प्रवचन सुरु गरेकाले अब बुधबार (भोली)बाट सहयोग आउने क्रम बढ्ने उनले बताए । उनले महायज्ञबाट यति नै धातु संकलन गर्ने भन्ने लक्ष्य नरहे पनि शिवको मुर्ति निर्माणको लागि ५० क्विन्टल अष्टधातु आवश्यक पर्ने जानकारी दिए । यसअघि दाङमा गरिएको महायज्ञमा साढे २ क्विन्टल धातु संकलन भएको पनि उनले जानकारी दिए ।
सोमबार मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलाराज रेग्मीले उदघाटन गरेको महायज्ञ पौष १२ गतेसम्म जारी रहनेछ । महायज्ञमा हरेक दिन ११ बजेबाट विभिन्न कार्यक्रमहरुका साथ झाँकिसहित प्रवचन एवं फुल प्रसाद बितरण भइरहेको छ । महायज्ञबाट संकलित धातु देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शिवको मुर्ति निर्माणमा प्रयोग हुनेछ । मुर्ति ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजक देवघाटधाम प्रतिष्ठान चिवतनका अध्यक्ष राजेन्द्र पियाले बताए । यसबाट देवघाट धार्मिक पर्यटकिय क्षेत्रको रुपमा समेत बिकास हुने उनको भनाई छ ।