आदिबासी महासंघको अधिवेशन उद्घाटन गर्न प्रम चितवन आउँदै

चितवन, २ पुस । नेपाल आदिवासी जनजाति महासंघको चितवनमा आयोजना हुन लागेको नवौं केन्द्रीय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनको उद्घाटनसत्रदेखि बन्द सत्रका आवश्यक सम्पूर्ण पूर्व तयारी पूरा भएको महासंघले जानकारी दिएको छ ।
महासंघका अध्यक्ष नगेन्द्र कुमालका अनुसार उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै राजनीतिक दलका शीर्ष नेताहरु आज चितवन आउँदैछन् । नारायणी नदी किनार परिसरमा जम्मा भएर विभिन्न जातीय झांकी सहितको ¥याली पुलचोक हुदै शहिदचोक, लायन्सचोक भएर भरतपुरको वीरेन्द्र क्याम्पस पुग्ने छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पदम गुरुङका अनुसार महाधिवेशनमा सहभागीता जनाउन आउने आगन्तुक पाहुनाहरुका लागि नारायणगढको पोखराबस पार्क क्षेत्रका होटलहरु बुकिङ गरिएको छ ।
जनजाति महासंघका महासचिव पेम्वा भोटेका अनुसार यो पटक २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातीय संस्थाबाट चार सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी हुदैछन् । वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने नारायणगढकै नारायणी कला मन्दीरमा आयोजना गरिने महासंघका उपाध्यक्ष एवम प्रचार प्रशार समितिका संयोजक डन्डु शेर्पाले जानकारी दिए । यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । पुस २ गतेदेखि पुस ४ गते सम्म चितवनमा महाधिवेशन चल्नेछ । महाधिवेशनमा महासंघको विद्यान संशोधनसँगै महासंघको भावि योजना र जनजाति आन्दोलनका उपलव्धीको विषयमा समेत छलफल हुने छ । छलफलबाट निस्कीएको निश्कर्षपछि चितवन घोषणा पत्र जारी गर्दै महाधिवेशन सकिनेछ ।