एक वर्षमा ६४ वटा गम्भीर प्रकारका मानव अधिकार उल्लंघन

चितवन, २ पुस । चितवनमा एक वर्षको अवधीमा विभिन्न ६४ वटा गम्भीर प्रकारका मानव अधिकार उल्लंघनका घटना भएका छन् । गत वर्षको पुस १२ गतेदेखि यस वर्षको मंसिर मसान्तसम्म चितवनमा भएका घटनाहरुलाई लिएर इन्सेकका चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा जबरजस्ती करणी, कर्तव्य ज्यानलगायतका विभिन्न ६४ वटा घटना जिल्लामा भएको जनाइएको हो ।
अनौपचारिक क्षेत्र सेवा इन्सेक चितवनले बिहीबार वर्ष २०१६ मा चितवन जिल्लामा भएका गम्भीर प्रकारका मानव अधिकार उल्लंघनका घटनालाई लिएर वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चितवनमा मानव अधिकार उल्लंघनका घटनामा बालिका समेत पीडित हुने गरेको उल्लेख गरिएको छ । इन्सेक प्रतिनिधि अधिकारीका अनुसार चितवनमा जबरजस्ती करणी सम्बन्धी १९ वटा घटना भएकोमा आठ जना बालिका पीडित भएका छन् ।
चितवनमा एक वर्षको अवधीमा जातिय विभेदको एउटा, मानव बेचबिखनको दुई बालिका सहित छ वटा, बहु बिवाहको चार वटा, अपहरणको तीन वटा घटना भएका छन् । सन् २०१५ मा चितवनमा ६७ वटा मानव अधिकार उल्लंघनका घटना भएकामा यस वर्ष घटेको समेत प्रतिवेदनमा जनाइएको छ । यस वर्षका ६४ वटा घटना मध्ये २२ वटा घटनाको मुद्दा फैसला भैसकेको छ भने बाँकी मुद्दाहरु फैसलाको प्रकृयामा रहेका छन् ।

img_4506