भरतपुरको योजना तर्जुमा गोष्ठी सम्पन्न

चितवन, २ पुस । भरतपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि २९ वटा वडामा आठ करोड ७४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट पेस गर्न आग्रह गरेको छ ।
कार्यालयले आयोजना गरेको आगमी आर्थिक वर्ष २०७४/०७५ को लागि योजना तर्जुमा गोष्ठीका क्रममा कार्यालयका कार्यकारी अधिकृत महेश बरालले एउटा वडाले योजना बनाउँदा कम्तीमा सात लाख रुपैयाँको बनाउन आग्रह गरे । सात लाख रुपैयाँ भन्दा सानो बजेट स्वीकृत नहुने भएकाले वडा नागरिक मञ्चसँग छलफल गरि योजनालाई प्राथमिकीकरण गरि वडा समिति मार्फत उपमहानगरपालिकामा प्रस्तुत गर्न समेत बरालले आग्रह गरे । आगमी पुसको ३ देखि ८ गतेभित्र वडा भेला गरि सम्पूर्ण वडाको योजना तर्जुमा गर्नको लागि समेत बरालले गरेका छन् ।
वडाले बजेट बनाउँदा ४० प्रतिशत बजेट लक्षित वर्गमा पर्ने गरि बनाउनुपर्नेमा समेत बरालले जोड दिए । भरतपुरलाई बालमैत्री नगर बनाउने तयारी स्वरुप लक्षित वर्गको बजेट अन्तर्गत बालबालिकालाई १५ प्रतिशत, महिलाको लागि १० प्रतिशत र अन्य वर्गको लागि १५ प्रतिशत बजेट छुट्याइने समेत बरालले बताए ।
img_4613भरतपुर उपमहानगरपालिकाले वडा नम्बर १० लागि सबैभन्दा बढि ६० लाख रुपैयाँको बजेट सिलिङ तोकेको छ । कार्यालयले तयार पारेको प्रक्षेपित बजेटमा भरतपुरको वडा नम्बर ४ का लागि ५६ लाख २५ हजार, ११ को लागि ५३ लाख ६० हजार रुपैयाँको बजेट सिलिङ तोकेको छ । सबैभन्दा थोरै बजेट वडा नम्बर २५ र २६ को लागि रहेको छ । ती वडाहरुमा १७ लाख ५० हजारका दरले बजेट सिलिङ तोकिएको छ । भरतपुरको वडा नम्बर १५ देखि २९ सम्मका सबै वडाहरु नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा गाभिएका वडाहरु हुन् ।
उपमहानगरपालिकाको स्रोत सिमित रहेकोले स्थानीय सेवाग्राहीले धेरै अपेक्षा नगर्न समेत समेत बरालको आग्रह थियो । कार्यक्रममा कार्यालयका योजना तथा शहरी विकास शाखाका वरिष्ठ इन्जिनियर भरत आचार्यले व्यवस्थित उद्यमशिल सहर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।