प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि सात करोड

चितवन, २ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चितवनमा सात करोड तीस लाख ७७ हजार रुपैयाँ बराबरको बजेट परेको छ ।
परियोजना कार्यान्वयन एकाई चितवन तथा जिल्ला कृषि विकास कार्यालय चितवनले आयोजना गरेको कार्यक्रम बजेट सार्वजनिकीकरण अभिमुखिकरण गोष्ठिमा परियोजनाका संयोजक वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेले चितवनमा तरकारी, अन्न तथा माछा पालनको लागि उक्त बजेट भित्रिएको जानकारी दिए । उक्त योजना अन्तर्गत एक वर्ष भित्रमा गहुँ र तरकारी बालीमा, दुई वर्ष भित्रमा धान र आलुमा, तीन वर्ष भित्रमा मकै र माछा, चार वर्ष भित्रमा केरा मेवामा नेपाललाई आत्म निर्भर बनाउने तयार भएको घिमिरेले बताए ।
चितवनलाई जोन कार्यक्रमको रुपमा पाँच सय हेक्टर क्षेत्रफलमा कार्यक्रम जाने गरि बजेट निकासा भएको समेत घिमिरेले जानकारी दिए । कृषि विकास मन्त्रालयले सञ्चालन गर्ने परियोजनामा दुई हजार एक सय पकेट क्षेत्र, एक सय ५० ब्लक, ३० वटा जोन र प्रत्येक प्रदेशमा एउटा सुपर जोनको अवधारणा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धानमा ५५ लाख ५० हजार, माछामा तीन करोड ७६ लाख ९४ हजार, तरकारीका लागि ६२ लाख ५० हजार रुपैयाँ अनुदान दिइने घिमिरेले बताए ।