अभियान जारी हुँदा परे ३५ निवेदन

चितवन, ३० मंसिर । नेपाल सहित विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । हिंसा विरुद्ध विभिन्न अभियान सञ्चालन गरे पनि महिला हिंसा भने निर्मुल पार्न सकिएको छैन ।
यस वर्ष पनि मंसिर १० देखि मंसिर २५ सम्म विभिन्न कार्यक्रम गर्दै देशभरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलाइयो । अभियान सञ्चालन भएकै बेलामा चितवनमा लैंगिक हिंसा सम्बन्धी विभिन्न ३५ वटा निवेदनहरु परेका जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलले जनाएको छ । महिला तथा बालबालिका सेलकी प्रमुख कल्पना पौडेलका अनुसार १६ दिनको अवधिमा चितवनमा सात वटा घरेलु हिंसा, २० जना व्यक्ति हराएको र आठ वटा अन्य निवेदनहरु परेका छन् ।
हराएका २० जना मध्ये १४ जना महिला चार जना बालिका र दुई जना बालक भएको पौडेलले बताइन् । अभियान चालु भइरहेको बेलामा चितवनमा हराएका मध्ये चार जना महिला र दुई जना बालक मात्र फेला परेको महिला तथा बालबालिका सेलको तथ्यांकमा उल्लेख गरिएको छ भने प्रतिमा अमात्य नाम गरेकी महिलाको शव भेटिएको पौडेलले जानकारी दिइन् ।