युटेक नेक्सेसको प्रकाशन

चितवन, ३० मंसिर । भरतपुर ११ मा रहेको युनाइटेड टेक्निकल कलेजका विद्यार्थीहरुले विद्यार्थीहरुको प्रतिभालाई प्रष्फुटन गराउनका लागि म्यागेजिन निकालेका छन् ।
वार्षिक रुपमा निकालिने म्यागेजिनको पहिलो अंक पोखरा विश्वविद्यालयका डिन ईन्जिनियर बुद्धिराज जोशीले बुधबार विमोचन गरेका हुन् । विद्यार्थीहरुको प्रकाशन तथा कलेजको आर्थिक सहयोगमा निकालिएको युटेक नेक्सेसको सम्पादन कलेजका शिक्षक ईन्जिनियर सन्देश आचार्यले गरेका हुन् भने म्यागेजिन प्रकाशकको संयोजक जीवन कुमार तिमिल्सेना रहेका छन् । म्यागेजिन विमोचन गर्दै पोखरा विश्वविद्यालयका डिन जोशीले विद्यार्थीहरुको प्रयासमा निकालिएको म्यागेजिनलाई निरन्तरता दिन आग्रह गरे ।
विद्यालय तहको शिक्षा सकेर प्राविधिक शिक्षातर्फ जोडिएका विद्यार्थीहरुको लेख्ने बानी नहुने भएकाले म्यागेजिन प्रकाशनले विद्यार्थीलाई लेख्न प्रेरित गर्ने जोशीको भनाइ थियो । विद्यार्थीहरुको लेख, रचनालगायतका अन्य अतिरिक्त क्रियाकलापहरु अन्य विद्यार्थीहरुको लागि समेत प्ररक बन्न सक्ने जोशीले बताए । विमोचन कार्यक्रममा नेपाल टेलिकम भरतपुरका ईन्जिनियर हरि ढकाल, त्रिवि अन्तर्गतको कृषि क्याम्पसका पूर्व सहायक डिन प्राध्यापक डाक्टर महेश्वर सापकोटा, युटेक कलेजका डिपार्टमेन्ट प्रमुख ईन्जिनियर समुन्द्र कंडेललगायतले मन्तव्य राखेका थिए ।
क्याम्पसका प्रबन्ध निर्देशक ईन्जिनियर बाबुराम उपाध्यायको अध्यक्षतामा भएको म्यागेजिन विमोचन कार्यक्रममा म्यागेजिन प्रकाशन समितिका पोषण खड्काले स्वागत मन्तव्य राखेका थिए ।