पाडो चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत 

हेटौँडा, २३ मङ्सिर । मकवानपुरको विकट गाविस काँकडा—४ देवीटारका चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो रहेको छ । भैँसीको पाडोबाट करिब डेढ–दुई वर्षमा लगानीको १२ गुना बढी आम्दानी भएकाले यस समुदायको आम्दानीको मुख्यस्रोत पाडो बन्न गएको हो ।
गाईवस्तु पालन नगर्ने यस ठाउँमा खेतबारी जोत्नका लागि गोरुमात्र पाल्ने चेपाङ समुदायले केही वर्षदेखि आम्दानीको वैकल्पिक स्रोतका रुपमा पाल्न थालेको पाडोबाट राम्रो आम्दानी भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । खेतीको अन्नले केही महिना मात्र खान पुग्ने भएकाले बाँकी महिनाको केही समय गिठ्ठा भ्याकुर खोज्ने, माछा मार्ने र ज्याला मजदुरी गर्ने यहाँका चेपाङले अहिले पाडो पालन गरेर छोराछोरी पढाउन थालेका छन् ।pado
जनएकता सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध यस ठाउँमा जम्मा २५ घरधुरी रहेको चेपाङ समुदायको हरेक घरमा अहिले दुईदेखि तीनवटासम्म पाडा रहेका छन् । तीनवटा बच्चाकी आमा २२ वर्षीया जुनिमायाले पनि बच्चाकै लागि पाडो पालेको बताइन् । “मौरीपालनले थोरै खर्च चल्छ, तर पाडोले बच्चा पढाउनुपर्छ”, उनले भनिन् । आफूले नपढेको भएपनि बच्चा पढाउन उनीहरुले पाडोपालन गरेका छन् । तर पनि यो आम्दानीले उनीहरुलाई समृद्ध भने बनाउन सकेको छैन ।
खाद्यान्नका लागि अझै पनि मनहरि बजारबाट कनिका किनेर लैजाने उनीहरुको भनाइ छ । उनीहरु सामुदायिक वन उपभोक्ता महासङ्घले अझ दिगो आम्दानीको स्रोत जुटाइदिए हुन्थ्यो भन्ने चाहन्छन् ।
विकट गाविसको अति विपन्नमा पर्ने देवीटारका चेपाङलाई बिहान–बेलुका छाक टार्नका लागि पनि समस्या हुने भएकाले नै यस ठाउँमा शिक्षा र स्वास्थ्यको स्तरको अवस्था पनि न्यून रहेको छ । हाल मौरी र पाडोले केही आवश्यकता पूरा गरेपनि समृद्धिका लागि ठोस योजनाको आवश्यकता रहेको छ । रासस