चितवनमा राजस्व संकलन १८ प्रतिशतले बढ्यो

चितवन, २१ म्ंसिर । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०७३/७४ को कात्तिक महिनामा लक्ष्य भन्दा १८ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ ।
कार्यालयले कात्तिक महिनामा एक अर्ब एक करोड २३ लाख १३ हजार रुपैयां राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा करिब १९ करोड रुपैयाँ बढी संकलन गर्न सफल भएको हो । कार्यालयले कात्तिक महिनामा मात्रै एक अर्ब २० करोड पाँच लाख ५९ हजार रुपैयां राजस्व संकलन गरेको छ । कात्तिक महिनामा सबैभन्दा बढी राजस्व अन्त शुल्कमा संलकन भएको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत थान प्रसाद पंज्ञानीले जानकारी दिएका छन् । kara ko
अन्त शुल्क मार्फत कार्यालयले काक्तिक महिनामा लक्ष्यभन्दा २३ प्रतिशत बढी एक अर्ब सात करोड ८४ लाख ८२ हजार रुपैयां राजस्व संकलन गरेको थियो । त्यस्तै, कार्यालयले आय कर वापत चार करोड १० लाख ३८ हजार रुपैयां, बहाल कर वापत ५४ लाख ९४ हजार, ब्याज कर मार्फत ५१ लाख ७५ हजार, मूल्य अभिवृद्धि कर वापत छ करोड ९२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत पंज्ञानीले जानकारी दिएका छन् ।
कार्यालयले सबैभन्दा थोरै राजस्व शिक्षा सेवा शुल्क मार्फत असुली गरेको छ । कार्यालयले शिक्षा सेवा शुल्क वापत कात्तिक महिनामा १० लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चार लाख १० हजार रुपैयां मात्र संलकन भएको पंज्ञानीले बताएका छन् ।