हिन्दुत्व संरक्षणका लागि अब एक भएर अघि बढ्ने : अध्यक्ष थापा (भिडियोसहित)

चितवन, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुत्व संरक्षणका लागि अब एक भएर अघि बढ्ने बताएका छन् ।
नेपाल हिन्दु राष्ट नै हुनुपर्छ, उनले भने । किन हिन्दु राष्ट हुदाँ अरु आपत्ति, डलर खेती गर्न नपाएर हो भन्ने प्रश्न राख्छु, अब हिन्दुत्व संरक्षण गर्न सबै एक जुट हौँ ।kamal-ramhari

चितवनमा राप्रपा र राप्रपा नेपाल चिवतनको एकीकरण सभालाई भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले देश टुक्राउन स–साना स्वरहरु बाहिर रहेको भन्दै पछि खतराको अवस्था सिर्जना हुन सक्ने तर्फ सचेत गराए । सानो झिल्कोमा रहेका विखण्डकारीहरु पछि डरलाग्दो बन्न सक्ने भनाई थियो ।

उनले माओवादी जनयुद्धको सुरुको समयलाई संकेत गर्दै दश वर्षको परिणाम जस्तै डरलाग्दो परिस्थिति सिर्जना हुन सक्ने बताए । उनले यही अवस्था रोक्नका लागि दुई पार्टी एकीकरण भएको स्पष्ट पारे । “कता कता विखण्डका स्वरहरु सुनिन थालेका छन्, परिस्थिति पछि डरलाग्दो हुन सक्छ” थापाले भने “हामी राष्ट्रियतालाई बलियो बनाउन एक भएर उभिएका छौं ।” उनले बाह्य शक्ति हावी भईरहेको अवस्थामा देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यक परेकोले दुई पार्टी एकीकरण भएको स्पष्ट पारे ।
अध्यक्ष थापाले अब पार्टी एकीकरण भईसकेकोले देशलाई हिन्दु राष्ट्र बनाई छाड्ने दावी गरे । उनले राप्रपा इशाई धर्मको कहिल्यै पनि विरोधी नभएको स्पष्ट पार्दै संकटमा पर्न लागेको पर्न लागेको हिन्दु धर्मप्रति मात्रै बढि चिन्ता लागेको बताए । कार्यक्रममा भूमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे, साँसद गणेश थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमबाट एकीकरण पछिको नयाँ कार्यसमिति समेत घोषणा गरिएको छ ।

यसैविच राप्रपा र राप्रपा नेपालको एकीकरण पछि राप्रपा चितवनको अध्यक्ष रामहरि कँडेल चयन भएका छन् ।
शुक्रबार भएको एकीकरण सभाबाट कँडेल जिल्ला अध्यक्षमा चयन भएका हुन् । पार्टी उपाध्यक्षद्धयमा विष्णु वाग्ले र दिलिप पाण्डे, सचिवमा रुद्रप्रसाद ढकाल, कोषाध्यक्षमा प्रेम गैरे, सह–सचिवमा हरिहर पौडेल, प्रवक्तामा जिवलाल पुरी, सह–प्रवक्तामा दिनेशबहादुर अधिकारी चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा हरिराज भट्टराई, प्रकाशराज थपलिया, तोयनाथ अधिकारी, भरतरुपा खेती, हरि मिश्र, जितेन्द्रबहादुर भण्डारी, मिना न्यौपाने, देवराज कँडेल, दिपनाथ काफ्ले, खेमबहादुर बस्नेत, सीता बसेल र कृष्ण तिवारी रहेका छन् ।

यस्तै राप्रपा नेपालको अध्यक्ष रहेका बद्री तिमिल्सिना भने निर्देशक समितिको अध्यक्ष बनेका छन् । यस समितिको सदस्यहरुमा चेतनाथ वाग्ले, मदन पौडेल, जितेन्द्रबहादुर भण्डारी, विनिता सिंह ठकुरी रहेका छन् ।